समाज

भिजिट नेपाल प्रवर्द्धनका लागि प्रदेश १ मा नौ जना सद्भावना दूत नियुक्त

काठमाडौं- प्रदेश १ सरकारले भिजिट नेपाल २०२० को प्रवर्द्धनका लागि विभिन्न क्षेत्रमा ख्याती कमाएका नौ जनालाई पर्यटन सद्भावना दूत नियुक्त गरेको छ।

प्रदेश सरकारले  आरोही काम्रिता शेर्पा, अल्ट्रा धाविका मिरा राई, कलाकार दीपाश्री निरौला र  पिन्कि राज गरियालाई सद्भावना दूत नियुक्त गरेको हो। त्यस्तै मिङ्ममा शेर्पा ,सानू सेर्पा, मिङ्म्मा ग्याबु शेर्पा , छाङदाबा शेर्पा र अग्लो नेपाली राजन अधिकारी छ्न ।

प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिले प्रदेश १ को पर्यटन प्रवर्द्धनका लागि काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मूख्यमन्त्री शेरधन राईले उनीहरूलाई सद्भावना दूतको प्रमाणपत्र प्रदान गरेका छन्।

मुख्यमन्त्री राईले प्रदेश १ लाई आधार बनाएर प्याकेजका कार्यक्रम ल्याउन पर्यटनसँग सम्बन्धित संस्थाहरूलाई अनुरोध गरेका छन्। मुख्यमन्त्री राईले प्रदेश १ लाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउने अठोटका साथ प्रदेशस्तरीय पर्यटन गुरूयोजना बनाउने गृहकार्य भइरहेको जानकारी दिए।

भिजिट नेपाल २०२० मा प्रदेश सरकारले आफ्नो प्रदेशमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको प्रदेश १ का पर्यटनमन्त्री जगदीशप्रसाद कुशियतले बताए।

कार्यक्रममा संघीय पर्यटनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष २०२० सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गरे। उनले संघीय सरकारले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनको लागि प्रदेश सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: २७ मंसिर २०७६ १४:०४ शुक्रबार

भिजिट_नेपाल_२०२० पर्यटन सद्भावना_दूत