समाज

धान्य पूर्णिमाका अवसरमा दुप्चेश्वर महादेव मन्दिरमा मेला

नुवाकोट - धान्य पूर्णिमाका अवसरमा नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा मेला लागेको छ। मेलालाई व्यवस्थित रूपमा सञ्चालन गर्न गाउँपालिकाले ‘दुप्चेश्वर क्षेत्र विकास कोष’ गठन गरिएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए। उनले भने, ‘गाउँपालिकाले मेलालाई विशेष पर्वको रूपमा मनाउने गरेको छ।’

मेलाका अवसरमा विभिन्न किसिमका झाँकी प्रस्तुत गरिएको थियो। मन्दिर दर्शन गरे सन्तान प्राप्ति हुने, बोली नफुट्ने बालबालिकाको बोली फुट्ने जनविश्वास छ। किवंदन्ती अनुसार स्थानीय बासे तामाङको गाई तादी नदी किनार छेउको भिरमा बच्चा जन्माएर भगवानलाई दूध चढाई बसेको थियो। त्यही स्थानमा स्थानीयले दुप्चेश्वर महादेव स्थापना गरे। र, मन्दिरमा दुई सय वर्षयता पूजाआजा गर्दै आएको जानकार बताउँछन्।

किवंदन्ती अनुसार समुद्र मन्थन गर्दा निस्किएको विष सेवनपछि छटपटाएका भगवान शिव पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर रसुवाको गोसाइँकुण्ड गएका थिए। त्यसैले दुप्चेश्वर महादेवलाई दोस्रो पशुपतिनाथका रूपमा पुजिने गरेका छन्। मन्दिर परिसरमा भेटिएकी काठमाडौंकी नविना घले तामाङले मनोकांक्षा पूरा हुने जनविश्वासले नै मन्दिर दर्शन गर्न आएको बताइन्। ‘भगवानप्रति आस्था भएकाले परिवार नै आएका छौं,’ उनले भनिन्।

जात्रामा सहभागी भक्तजनको लागि थर्पु, बाँस बस्न अस्थायी आवास, जात्रामा सहभागी हुने झाक्री, लामा, ठ्यांग्रेका लागि थप सुविधाको समेत व्यवस्था मिलाइएको थियो। दुप्चेश्वर जात्रामा धुपी, डोको, थुञ्चे बिक्री मेलामा फस्टाउने भए पनि सरकारले निगालो कटानीमा लगाएको प्रतिबन्धले हस्तकलाबाट उत्पादित सामग्री बेच्न बस्नेको संख्या पछिल्ला वर्षमा घट्दै गएको छ।

मेला नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, धादिङ, काठमाडौँ, गोरखा, मकवानपुर, चितवनलगायतका तीर्थालु दुप्चेश्वर महादेवको दर्शन गर्न आएका थिए।

प्रकाशित: २७ मंसिर २०७६ ०२:२३ शुक्रबार

धान्य_पूर्णिमा दुप्चेश्वर_महादेव