समाज

नागरिकसँग घुलमिल हुँदै नेपाली सेना

नागरिक सैनिक अन्तरक्रियामा नेपाली सेनाका उच्च अधिकारीहरु। तस्बिर:अर्जुन/नागरिक

नेपालगन्ज- गाउँ, समाजमा बर्दीधारी सेना देख्दा अझैपनि डराउने र अनेक आशंका गरिहाल्ने प्रवृत्ती कायम छ। माओवादी द्धन्द्धका क्रममा तत्कालिन शाही सेनाले गरेको काम, कारवाहीको मनोबैज्ञानिक त्रास हट्न नसकेको हो। लोकतन्त्र स्थापना भएपछि रुपान्तरित भएको नेपाली सेनाले थुप्रै उद्धार तथा विकास निर्माणको काम गरेपनि यसले नागरिकको भावनालाई जोड्न सकेन। कडा अनुशासनको घेराभित्र रहने सेनाले नागरिकसँगको सम्बन्ध कायम राख्ने प्रयास अहिले गरिरहेको छ। सेनाले यतिबेला नागरिक समुदायसँग आफुलाई बिस्तारै घुलमिल गराउन थालेको हो।

सम्भवतः पहिलो पटक नेपाली सेनाले औपचारिक कार्यक्रम गरेर नागरिक समुदाय तथा सञ्चारकर्मीसँग आफ्नो संगठनप्रतिको जिज्ञासा, सल्लाह, सुझाव लिएको छ। नेपाली सेनाको नेपालगन्जस्थित राँझा ब्यारेकमा बिहीबार आयोजित ‘नागरिक सैनिक अन्तरक्रिया’ मा सेनाले आफुलाई नागरिकसँग घुलमिल गर्न खोजेको प्रष्टै देखिन्थ्यो।

उक्त कार्यक्रममा उपस्थित भएका सैनिक उच्च अधिकारीले नेपाली नागरिकको हितका लागि काम गर्दै आएको भएपनि अझ समुदाय स्तरमा पुगेर काम गर्ने रणनीति सुनाए। कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाली सेनाको उत्तर पश्चिम पृतनापति(उपरथी) सरोज प्रताप राणाले नेपाली सेनाले आफुलाई आम नागरिकसँग हातेमालो गर्ने प्रयास गरिरहेको बताए। ‘हामीले पनि अनुभव गरेको कुरा हो,’ उनले भने ‘नेपाली सेनासँग नागरिकहरु डराउने स्थिती अब आउनु हुदैन।’ आम नागरिकको दुःख, पीडामा काम गरिरहेको हुँदा नेपाली सेनालाई आफ्नै सेना सम्झिन पृतनापति राणाको अनुरोध थियो।

राष्ट्रको सुरक्षासहित विकास निर्माण, विपद ब्यवस्थापन लगायत काममा नेपाली सेना त्यतिकै सक्रिय रहेको उनले बताए। सेनाले विकट क्षेत्रमा पुगेर नागरिक सचेतना कार्यक्रमसँगै स्वास्थ्य उपचार सम्बन्धी काम पनि गरिरहेको बताए। ‘यस क्षेत्रको सल्यान जिल्लामा हामीले बर्थिङ सेन्टर बनाउँदैछौं, समुदायलाई प्रभाव पार्ने गरी विपद ब्यवस्थापनको काम गरिरहेका छौं,’ उनले भने। नेपाली सेनामा मिडिया नीति लागू भईसकेको उल्लेख गर्दै राणाले केन्द्रमा मात्र नभएर पृतना, बाहिनी र गणमा पनि सूचना अधिकारी तोकिएको जानकारी दिए।

श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनी पति सुरेशकुमार बानियाले नेपाली सेना सामुदायिक गतिविधीमा सहभागी हुने गरेको बताए। ‘नेपाली सेना मेरो सेना हो भनेर हामी समुदायमा गईसकेका छौं, हामी स्कुल–स्कुलमा पुगेर पनि पुगेका छौं,’ उनले भने। सो क्रममा नेपाली सेना समारोह श्रब्यदृश्य महाशाखाका महासेनानी ईश्वरकुमार श्रेष्ठले नागरिक सैनिक अन्तरक्रिया कार्यक्रमलाई जिल्ला ब्यापी रुपमा सञ्चालन गरिएको बताए।

नेपाली सेनाले पश्चिम क्षेत्रका लागि सुर्खेतमा विपद उद्धार केन्द्र राखेको जनाएको छ। सेनासँग सुर्खेतमा उपलब्ध एउटा सानो र अर्को ठूलो(एमआई–१७) दुई वटा हेलिकप्टरमार्फत उद्धार कार्य गर्दै आएको छ। नेपालगन्ज बिमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले सेनाले गर्ने उद्धार कार्य प्रभावकारी भएपनि सरकारले सेनालाई अधिकार नदिदाँ केही समस्या देखा पर्ने गरेको बताए।

उनले भने, ‘कसैलाई उद्धार गर्नुपर्दा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले आदेश गरेपछि मात्र हेलिकप्टर सेनाको उडाईन्छ, यसले कसैलाई छिटो छरितो उद्धार गर्दा समस्या निम्त्याउँदो रहेछ।’ कार्यक्रममा उपस्थित भएका नागरिक समाजका प्रतिनिधी तथा सञ्चारकर्मीले नेपाली सेनाले समुदाय स्तरमा पुगेर आम नागरिकको लागि रचनात्मक काम गर्नुपर्ने सल्लाह, सुझाव दिए।


 

प्रकाशित: २६ मंसिर २०७६ १४:३९ बिहीबार

नागरिक घुलमिल नेपाली सेना