समाज

मनाइयो योमरी पुन्ही

भक्तपुर- घरघरमा योमरी (मनपर्ने रोटी) पकाएर खाई देशभरका नेवार समुदायले बिहीबार योमरी पुन्ही (पूर्णिमा) मनाएका छन्। नेपाल भाषामा ‘यो’ को अर्थ मनपर्ने र ‘मरी’ को अर्थ रोटी हो। यस अर्थमा योमरीको अर्थ मनपर्ने रोटी हो।

प्रत्येक वर्ष मंसिर शुक्ल पूर्णिमाको दिन विशेष प्रकारको रोटी योमरी खाएर देशभरका नेवारहरु योमरी पुन्ही मनाउने गरिन्छ। चामलको पिठोबाट बनाइएको विशेष प्रकारको रोटीभित्र चाकुको झोल आदि राखी योमरी पकाइन्छ। 

योमरी खाने दिन भएकाले यो पर्वका दिन नेवार समुदायका महिला आ–आफ्नो घरमा सबेरै उठेर योमरी पकाउँछन्। योमरीका साथ भोज खाँदा नियमित जस्तो भोजन गर्ने चलन छैन। यो दिन नियमितजस्तो खाना खान नहुने विश्वास छ। त्यही अनुसार यस दिन उनीहरु विहान खाना नखाई योमरीका साथ चिउरा, तरकारी, मासुलगायतका परिकार राखेर भोज खान्छन्।

नेवारहरुको राष्ट्रिय संगठन नेवा देयः दबूका पूर्व अध्यक्ष मल्ल के सुन्दरका अनुसार देशभरका नेवारहरु यो पर्वका दिन योमरी पकाएर खान्छन्। उनका अनुसार योमरी सबै नेवारहरुको मौलिक सांस्कृतिक पहिचान हो।

पर्वका दिन नेवार समुदायको परिवारमा विशेष उल्लास हुन्छ। यस क्रममा घरका महिलाहरु सबेरै उठेर नुहाइधुवाई गरी चोखो हुन्छन्। साथै, बालबालिकाहरु यो दिन मिठोमसिनो खाई रमाउँछन्।

अरु पर्व जस्तै एक दिनमै यो पर्व सकिंदैन। पर्वको चार दिनपछि विवाहिता छोरीहरु बोलाई सबैलाई लक्ष्मीको प्रसादको रुपमा योमरी बाँडिन्छ। पर्वको चार दिनपछि छोरीबेटीलाई घरमा बोलाएर योमरीका साथ भोज खुवाउने चलन अहिले पनि बाँकी छ। पर्वका दिन उनीहरु योमरी खाने, बाँड्ने र पूजा गर्ने गर्दछन्।

संस्कृतिविद् जननीप्रसाद मुलका अनुसार वर्षको सबैभन्दा लामो रात पनि यही समयमा पर्छ। योमरी बनाउँदा योमरीको चुच्चो जति लामो हुन्छ, त्यो रातको समय त्यत्तिकै लामो हुने विश्वास रहेको उनी बताउँछन्।

त्यस्तै योमरीको सम्बन्ध मौसमसँग पनि जोडिएको उनी सुनाउँछन्। नेवार संस्कृतिमा नयाँ घर बनाइसकेपछि छानाबाट योमरी गुडाउने चलन पनि यद्यपि छ। साथै यहाँका धरोहरको रुपमा चिनिने मठमन्दिर, देवालय, शिवालय बहाबहीको वर्षबन्धनको दिन छानाबाट योमरी गुडाउने गरिन्छ।

के हो योमरी ?

योमरी चामलको पीठोबाट बनाइने विशेष प्रकारको रोटी हो। चामलको पिठोलाई मनतातो पानी हालेर मुछी विशेष आकारमा योमरी तयार गरिन्छ। पानीको बाफबाट यसलाई उसिनेर पकाइन्छ। योमरीभित्र चाकुलगायतका गुलियो खाद्य पदार्थ राखिएको हुन्छ। कसैले यसमा चाकु र तिलको मिश्रणसहित खुवा, मुगींको लिटो आदिले त्रिकोण आकारमा बनाइन्छ। हिजोआज योमरी विभिन्न आकारप्रकारमा बनाइन्छ। वर्षको पहिलो धानबाट चामलको पिठो तयार गरी योमरी बनाइन्छ। मंसिरमा काटेर भित्रयाइएको धानको चामललाई पिठो बनाएर योमरी बनाउने चलन छ।

 

प्रकाशित: २६ मंसिर २०७६ १०:३८ बिहीबार

योमरी योमरी_पुन्ही पर्व