समाज

भ्रमण वर्ष सचिवालय र टानबीच ११ बुँदे सम्झौता

काठमाडौं- नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) बीच भ्रमण वर्ष सफल बनाउन सहकार्य गर्ने सम्झौता भएको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्न सचिवालय र टानबीच विभिन्न ११ बुँदे समmदारीपत्रमा सम्झौता भएको हो।

बुधबार काठमाडौंमा आयोजित उक्त कार्यक्रममा भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले भ्रमण वर्ष व्यक्ति, मन्त्रालय तथा सरकारको मात्र नभएर सबै नेपालीको भएको बताए। उनले पर्यटकको सेवा सुविधा बढाए मात्र पर्यटकहरु फेरी नेपाल आउने सम्भावना रहने बताए। त्यसका टानसँगको सम्झौता महत्वपूर्ण हुने उहाँले बताए।

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले देशको आर्थिक विकासका लागि गुणस्तरीय पर्यटनमा ध्यान दिनुपर्ने बताए। उनले सरकारले २० लाख पर्यटक ल्याउने घोषणा गर्दा टानले सबै सदस्यमार्फत ८ लाख बढी पर्यटक नेपाल लयाउने योजना बनाएको बताए।

सचिवालय र टानबीच पद्यात्रामा विदेशी पदयात्रीलाई २० प्रतिशत छुट दिने, साहसिक पर्वतिय पर्यटन मार्ट नेपालमा आयोजना गर्ने, नयाँ पदयात्राको गन्तव्य खोजी गर्ने, विभिन्न देशमा पर्यटन प्रवद्र्धनको काम गर्ने, कम्तिमा ४ हजार व्यक्तिलाई पदयात्राका लागि तालिम प्रदान गर्ने, वातावरण संरक्षण र सम्वद्र्धनको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने लगायतका विभिन्न ११ बुँदामा सम्झौता भएको छ। 

प्रकाशित: २५ मंसिर २०७६ १०:४९ बुधबार

नेपाल_भ्रमण_वर्ष