समाज

पुरानै अवस्थामा फर्कियो कोहलपुर

कोहलपुरमा मंगलबार निकालिएको सद्भाव -याली। तस्बिर : नागरिक

नेपालगन्ज – स्कुले बालिकालाई ट्रकले किचेपछि तनावपूर्ण बनेको बाँकेको कोहलपुर बजार मंगलबारदेखि सामान्य अवस्थामा फर्किएको छ। कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले आइतबार बिहान स्थानीय त्रिभुवन माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत १२ वर्षीया प्रकृति चन्दलाई किचेर घाइते बनाएको थियो।

घटनापछि आक्रोशित भएका विद्यार्थी तथा स्थानीयले ट्रकमा आगजनी गर्नुका साथै करिब डेढ दर्जन सवारीसाधनमा तोडफोडसमेत गरेका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा गोली चलाउँदा २० जनाभन्दा बढी विद्यार्थी र स्थानीय तथा आन्दोलनकारीको ढुंगा प्रहारबाट दर्जनभन्दा बढी सुरक्षाकर्मी घाइते भएका थिए।

दुई दिनसम्म तनावमा रहेको कोहलपुर घटनाबारे सर्वपक्षीय सहमतिपछि मंगलबार बिहान ‘सद्भाव तथा शान्ति’ -याली निकालेपछि जनजीवन सामान्य बन्दै गएको हो। -यालीमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित कोहलपुरमा रहेका उद्योगी, व्यापारी, नागरिक समाज, शिक्षक, विद्यार्थीको बाक्लो सहभागिता रहेको थियो। बालिकालाई ट्रकले ठक्कर दिएको घटनास्थल त्रिभुवन माध्यमिक विद्यालय अगाडिबाट सुरु भएको सद्भाव तथा शान्ति -याली कोहलपुर चौराहामा पुगेर समापन भएको कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जुकुमारी चौधरीले बताइन्।

‘सद्भाव ¥यालीपछि कोहलपुर पुरानै अवस्थामा फर्किसकेको छ,’ उनले भनिन्, ‘यहाँको शान्ति र सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार र प्रतिबद्ध भएका छन्।’ ट्रकको ठक्करबाट खुट्टा गुमाएकी प्रकृति चन्दलगायत प्रहरीको गोली लागेर घाइते भएका सबैको उपचारमा सरकारले विशेष ध्यान दिनुपर्नेलगायत मागहरू कोहलपुरवासीले गरेको उपमेयर चौधरीले बताइन्।

सद्भाव -यालीमा राजनीतिक मतभेद्
सद्भाव -यालीमा सहभागिताबारे प्रमुख राजनीतिक दलबीच नै मतभेद भने देखिएको स्रोतले जनाएको छ। यद्यपि -यालीमा सबै राजनीतिक दलको सहभागिता भने रहेको एक सुरक्षा अधिकारीले बताए। ‘सद्भाव -यालीको विषयमा विशेषगरी नेकपा र नेपाली कांग्रेसबीच मतभेद देखियो,’ ती सुरक्षा अधिकारीले भने, ‘तर पनि सबै दलको सहभागिता रह्यो।’

जनजीवन सामान्य बनेपछि मंगलबार व्यापार, व्यवसाय, शिक्षण संस्था तथा यातायातक सञ्चालनमा आएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) शिव सिंहले कोहलपुरको जनजीवन सामान्य बनेको बताए। ‘सर्वपक्षीय र सर्वदलीय बैठकमा भएको सहमतिअनुसार सद्भाव -याली निकालियो, -यालीमा सबै पक्षबाट सहभागिता रह्यो,’ उनले भने।

यसअघि सोमबार बसेको सर्वपक्षीय र सर्वदलीय बैठकमा ट्रकले बालिकालाई किचेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रण गर्ने क्रममा भएका घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च राज्यले गर्ने तथा उक्त घटनामा दुवै खुट्टा गुमाएकी पीडित छात्राको शिक्षादीक्षासहित जीवनयापनका लागि उचित क्षतिपूर्तिको व्यवस्था गर्न गृह मन्त्रालयमा अनुरोध गर्ने, कोहलपुरमा सद्भाव ¥याली निकाल्नेलगायत ६ बुँदे निर्णय गरिएको थियो। कोहलपुर घटनाका घाइतेको काठमाडौं तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

डिएसपी शाहीलाई जिम्मेवारीबाट हटाइने
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) हेम शाहीलाई तत्कालका लागि जिम्मेवारीबाट हटाइने प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए। ‘डिएसपी हेम शाही अब इलाका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारीमा रहनुहुन्न,’ उनले भने। बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीले कोहलपुरको पछिल्लो घटनाक्रमका कारण शाहीलाई त्यहाँको जिम्मेवारीबाट हटाउनुपरेको बताए। ‘कार्यालय प्रमुखको जिम्मेवारी अर्कालाई हस्तान्तरण गर्नुपर्ने हुँदा केही समय लाग्न सक्छ,’ ओलीले भने। आन्दोलनकारीको ढुंगा प्रहारबाट घाइते भएका शाही अहिले अस्पतालमा उपचार गराइरहेका छन्।

प्रकाशित: २५ मंसिर २०७६ ०२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App