समाज

सामाजिक परिवर्तनमा सघाउन आग्रह

समाजिक बिकृती हटाउनको लागि आयोजना गरिएको कार्यक्रममा उपस्थित विभिन्न समुदायका धर्म गुरुहरू। तस्बिर : नागरिक

बारा – जिल्लामा विद्यमान सामाजिक विकृति अन्त्यका लागि सहयोग गर्न धर्मगुरुहरूलाई आग्रह गरिएको छ। बालविवाह, दाइजो प्रथा, बोक्सी प्रथा, जातीय छुवाछुतजस्ता कुसंस्कार संरक्षणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धर्मगुरुको सहयोग रहेको पाइएपछि स्थानीय प्रशासनले सबै धर्मगुरुहरूलाई एकै ठाउँमा राखेर उक्त आग्रह गरेको थियो।

पण्डित, पुजारी, मौलवी, लामालगायत विभिन्न समुदायका धर्म गुरुका रूपमा अगुवाहरूले अब पनि समाजिक विकृतिका रूपमा रहेका प्रथालाई अन्त्य गर्न धर्मगुरुको महत्वपूर्ण भूमिका हुने भएकाले सहयोगी बन्न आग्रह गरेको प्रजिअ फणिन्द्रमणि पोखरेलले बताए। जिल्लामा बालविवाह हुन नदिन धार्मिक गुरुहरूको समाजमा मुख्य भूमिका हुने भएकाले विवाह गराउनुभन्दा पहिले जन्मदर्ता अनिवार्य हेरेर मात्र विवाह गराउनुपर्ने सुझाव उनले दिए। विवाहका लागि २० वर्ष अनिवार्य पुगेको हुनुपर्ने भएकाले त्योभन्दा मुनि कसैको पनि विवाह गराए धर्मगुरुलाई समेत कारबाही हुने भन्दै सचेत गराइएको थियो।

धर्मगुरुहरू सचेत भए वर्षौंदेखि जकडिएर रहेका सामाजिक विकृति ७० प्रतिशतभन्दा बढी कमी आउने बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताए। विभिन्न समुदायले सुरुदेखि नै आफ्ना धर्म गुरुको सम्पर्कमा राख्ने र धर्म गुरुहरूले भनेका अधिकांश कुरामा विश्वास राख्ने हुँदा विकृति रहँदै आएको उनको भनाइ छ। सामाजिक संस्कारको नाममा कानुन विपरीत काम गरेमा कारबाही गरिने उनले बताए।

जिल्लामा बाल विवाह सम्बन्धी मुद्दा आउने गरेको भए पनि बालविवाह गराउनेले अहिलेसम्म सजाय नपाएको बाराका न्यायाधिवक्ता महेन्द्रबहादुर थापाले बताए। बालविवाह गराउनेलाई समेत कानुनअनुसार कारबाही हुने भएकाले धर्मका नामका नाममा गैरकानुनी काम नगर्न आग्रह गरे। कानुनको पालना गर्ने मात्रै भन्दा पनि समाज परिवर्तन गर्न सबैभन्दा पहिले आफैंमा परिवर्तन आउनुपर्ने उनको भनाइ थियो। कार्यक्रममा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले संविधानलाई सबैले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। यस्तै महिला अधिकारकर्मी बबिता जयसवालले सानो उमेरमा विवाह गराउँदा महिलाहरूलाई नै बढी समस्या हुने भएकाले सजग हुन सबै बालिकालाई आग्रह गरिन्।

प्रकाशित: २५ मंसिर २०७६ ०२:१९ बुधबार

सामाजिक परिवर्तन