समाज

तेघरी राजधानी घोषणाले चुरेमा वन माफियाको गिद्देदृष्टि

गोदावरी नगरपालिका–४ स्थित राष्ट्रिय वनक्षेत्रको गाईमारामा अतिक्रमण गरी बनाइएका टहरा तथा अतिक्रमित क्षेत्र। तस्बिरः नागरिक

कैलाली – अत्तरियाको गोदावरीदेखि माथि फोक्से डाँडासम्म भएको नयाँ अतिक्रमण केही दिनअघि डिभिजन वन कार्यालय धनगढीको टोलीले हटायो। तर गाईमारा क्षेत्रमा भएको मानवीय अतिक्रमण एक साताअघि टहरा हटाइए पनि वनमाफियाले सो क्षेत्रमा रातारात पुनः घर–टहरा निर्माण गरे। यसरी अत्तरिया, गोदावरी, चुरेक्षेत्रमा अघिअघि डिभिजन वन कार्यालय अतिक्रमण हटाउँदै जाने र पछिपछि वनमाफियाले घर–टहरा निर्माण गर्ने क्रम विगत एक महिनादेखि चलिरहेको छ।

२०७५ असोज १२ गते गोदावरी नगरपालिकाको तेघरी सामुदायिक वनक्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारले राजधानी घोषणा गरेसँगै अत्तरिया, गोदावरी, तेघरीमात्रै नभई समग्र चुरेक्षेत्र नै अतिक्रमणको चपेटामा परेको छ। यो क्षेत्रमा फँडानी गरी वनमाफियाले घडेरी बनाउन थालेका हुन्।

तेघरी जंगलमा राजधानीस्थल तोकेलगत्तै वनमाफियाहरूले वरपरको सामुदायिक तथा राष्ट्रिय वनक्षेत्रमात्र नभई चुरेक्षेत्रमा गिद्देदृष्टि लगाउन थालेको अत्तरियाका स्थानीय यज्ञबहादुर रावलले बताए। ‘तेघरीमा राजधानी बन्ने निश्चित भएपछि पछिल्लो एक वर्षयता यो क्षेत्रमा वनमाफियाको गिद्दे नजर परेको छ,’ उनले भने, ‘पछिल्लो समयमा वन अतिक्रमण गरी घर–टहरा बनाउने तथा जमिन सम्याएर बेच्ने क्रम बढेको छ।’

स्रोतका अनुसार तेघरीनजिकै रहेको हनुमान मन्दिर, गोदावरी आर्यघाट जाने क्षेत्र, चुनेपानी, समाधि गडा, भ्यागुत्तेपानी, बाँसपानी, गाईमारा क्षेत्रमा अत्तरियास्थित सब–डिभिजन वन कार्यालयकै कर्मचारीको मिलेमतोमा वनमाफिया र भू–तस्करहरूले आफन्तलाई ल्याए अधियाँमा अतिक्रमण गराउने गरेका छन्। स्रोतले भन्यो, ‘केही वन कर्मचारीहरू पहाड तथा तराईबाटै आफन्तहरूलाई ल्याएर तेघरीनजिकै गोदावरी क्षेत्र तथा चुरेक्षेत्रमा फँडानी गर्न लगाउने र त्यसको संरक्षण गर्ने गरेका छन्।’

तेघरीमा राजधानी बन्ने निर्णयपश्चात् अतिक्रमण गर्नेहरूले चुरेक्षेत्रमै नजर डुलाउन थालेका छन्। तेघरी राजधानी घोषणा गरिनु भनेकै चुरे र भावर वनक्षेत्र  सिध्याउने मेसो हो।

फँडानी गरेर टहरा निर्माण गरिएपश्चात् वन कर्मचारीलाई आधा जमिन दिनुपर्ने र आधा जमिन फँडानी गर्नेले नै पाउने गरी वन कर्मचारीबाटै संरक्षण गरिएको स्रोतको भनाइ छ। वर्षौदेखि सडक किनारमा बसेकाहरू पनि पछिल्लो समयमा सामुदायिक तथा राष्ट्रिय वनको सिमाना मिच्दै अगाडि बढिरहेका छन्। उनीहरूले हरेक राति एक÷दुई हात जंगलतर्फ जमिन बढाउँदै लैजान थालेको एक स्थानीयले बताए। ‘हामी सर्वसाधारणले जमिन अतिक्रमण गरेमा कानुन लाग्छ,’ उनले भने, ‘तर यहाँ केही वन कर्मचारीका आफन्तले रातारात दुई/चार हात जमिन बढाउँदै छन्, उनीहरूलाई न वन कर्मचारीले समात्छन्, न कानुन नै लाग्छ।’ उनका अनुसार अत्तरिया बजार क्षेत्रको सामुदायिक तथा राष्ट्रिय वनक्षेत्रमा संस्थागत अतिक्रमण बढ्दो छ। यहाँ गोदावरी नगरपालिकाले खेलकुदका लागि भन्दै दुई बिघाभन्दा बढी जमिनमा घेरा–पर्खाल लगाएको छ।

तेघरीमा राजधानी बन्ने निर्णयपश्चात् पछिल्लो समयमा भने बस्ती बसाउने तथा अतिक्रमण गर्नेहरूले चुरेक्षेत्रमै नजर डुलाउन थालेको पूर्व वन अधिकृत रमेश चन्दले बताए। उनले भने, ‘तेघरी राजधानी घोषणा गरिनु भनेकै चुरे र भावर वनक्षेत्र सिध्याउने मेसो हो।’ यही तरिकाबाट भावर वन र चुरे वनक्षेत्र सकिँदै जाने हो भने तराई क्षेत्र चाँडै मरुभूमिमा परिणत हुने उनको चिन्ता छ।

यस्तै वनक्षेत्रभित्रै मन्दिर, गुम्बा, विभिन्न संघसंस्थाका कार्यालय तथा विद्यालय भवन बनाएर संस्थागत अतिक्रमण बढेको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले बताए। ‘तेघरीमा राजधानी बन्ने भनेपछि पछिल्लो समयमा अतिक्रमण गर्नेहरू सल्बलाएका छन्,’ उनले भने, ‘अतिक्रमण हटाउनका लागि राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवाला सबैको सहयोग भए मात्रै सम्भव छ।’ चुरे संवेदनशील भएको बताउँदै उनले चुरेक्षेत्र अतिक्रमण गरी टहरा बनाउन थालेको तथा जमिन अतिक्रमण गरेकोहरूलाई हटाउने अभियान थालेको पनि बताए।

प्रदेश वन निर्देशनालयका अनुसार कैलालीमा अहिलेसम्म २१ हजार एक सय ५४ दशमलव ७७ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको छ। देशभरमा एक लाख हेक्टर वनको क्षेत्रफल अतिक्रमणको चपेटामा परेको छ भने त्यसको २१ प्रतिशत (२१ हजार एक सय ५४ दशमलव ७७ हेक्टर क्षेत्रफल) वनक्षेत्र कैलालीमा मात्रै अतिक्रमण भएको छ। यो तथ्याङ्कले देशभरमै सबैभन्दा बढी कैलाली जिल्लामा वनक्षेत्र अतिक्रमण भएको देखिन्छ। देशभरमै अतिक्रमित वनक्षेत्रको एक लाख हेक्टर क्षेत्रफलमध्ये २१ हजार हेक्टर क्षेत्रफल कैलाली जिल्लामा अतिक्रमण भएको पाइन्छ।

प्रकाशित: २५ मंसिर २०७६ ०१:३७ बुधबार

चुरे माफिया