समाज

पहिलो पटक ‘मर्यादित महिनावारी’ दिवस मनाइयो

काठमाडौं – ‘मर्यादित महिनावारी’का लागि सचेत रहन अपिल गर्दै नेपालमा पहिलो पटक आइतबार ‘मर्यादित महिनावारी दिवस’ मनाइएको छ।

दिवसका अवसरमा राधा पौडेल फाउन्डेसन र दक्षिण गोलार्दीय मर्यादित महिनावारी संजालको पहलमा कार्यक्रम आयोजना गरिएको छ।

राजधानीको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मर्यादित महिनावारी नीति २०७४ लाई वृहत परामर्श गरी अघि बढाउने र डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवसको रूपमा मनाउन संयुक्त राष्ट्र संघमा प्रयत्न गर्ने प्रतिवद्धता गरेको राधा पौडेल फाउन्डेसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

दिवसका अवसरमा देशभरका १२ जिल्लामा विभिन्न कार्यक्रम गरिएको जनाइएको छ। सप्तरी, सर्लाही, बारा, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, नवलपुर, बाग्लुङ, दैलेख, जुम्ला र बाजुरामा विविध कार्यक्रम मनाइएको फाउन्डेसनले जनाएको छ। यस्तै, विदेशमा दक्षिण गोलार्धीय मर्यादित महिनावारी सञ्जालमार्फत युगान्डा, इन्डोनेसिया, अमेरिका र अस्ट्रेलियामा पनि मनाइएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २३ मंसिर २०७६ ०३:२४ सोमबार

मर्यादित_महिनावारी