समाज

पर्यटन प्रवर्धन गर्न कार र्‍याली

स्कल नेपालले शुक्रबार गरेको कार र्‍यालीका सहभागी। तस्बिरःनागरिक

पोखरा- सरकारले २० लाख विदेशी पर्यटक भित्याउने लक्ष्यसहित सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदैछ। भ्रमण वर्षको पूर्वसन्ध्यामा पर्यटन क्षेत्रमा काम गर्दे आएको स्कल नेपालले तिनदिने कार र्‍याली आयोजना गरेको छ।

स्कल नेपालले जारी गरेको विज्ञप्ती अनुसार स्कल स्पेनमा रहेको गैरसरकारी संस्था हो। यसले विश्व पर्यटन व्यवसायको प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आएको छ। यससँग पर्यटनका १५ हजार बढी व्यवसायिक साझेदार रहेका छन्, जसले पर्यटन उद्योगमा सहकार्य गर्छन्। स्कलको नेपालस्थित शाखाले शुक्रबारदेखि तीनदिने कार र्‍याली आयोजना गरेको हो।

शुक्रबार काठमाडौैंबाट सुरु भएको कार र्‍यालीले तीनवटा मुख्य पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्नेछ। काठमाडौं–चितवन–पोखरालाई पर्यटन क्षेत्रमा गोल्डेन ट्रयांगल मानिन्छ। यही गोल्डेन ट्रयांगलमा स्कल नेपालले स्थानीय पर्यटन व्यवसायीसँग छलफल गर्दै अनुभव साटासाट गर्दैे कार र्‍याली गरेर अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा प्रवद्र्धन गर्ने स्कल नेपालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

नेपालले मनाउन थालेको नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा स्कल नेपाल र पर्यटन बोर्डको सहकार्यमा तीन दिने कार र्‍याली आयोजना गरिएको विज्ञप्तीमा जनाइएको छ। ‘नेपालको सडक यात्रा निकै नै रोमाञ्चक रहेको छ। नेपालका राजमार्गले नेपाली समाजलाई जोड्दै सामाजिक आर्थिक गतिविधि उकास्न सघाएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘नेपालको सामाजिक विविधतालाई समेट्ने यो अवसरमा पहाडि, समथर अनि हरियाली र नागबेली नदीको दृश्यावलोकनको अनुभव पनि गर्न पाइन्छ।’ यो यात्रामा ३५ सदस्य रहेका छन्। उनीहरु आफ्नै गाडीमा यात्रामा निस्केका छन्।

पर्यटन प्रवद्र्धन गर्ने क्रममा स्कलले विश्वका विभिन्न भागमा पुगेर प्रवद्र्धनात्मक कार्यक्रम गर्ने गर्छ। स्कल नेपालसँग ६६ सदस्यीय पर्यटन क्षेत्र आवद्ध छन्। नेपाल पर्यटन बोर्ड, होटल, ट्राभल, टे«किङ, हवाई तथा साहसिक क्षेत्र यसका नेपाल सदस्य हुन्। यसले सदस्य संस्थाबीच बेलाबेला अन्तरक्रिया बाहेक सामाजिक गतिविधि, सम्पदा संरक्षण र वातावरणको संरक्षणको क्षेत्रमा काम गर्दै आईरहेको छ।

 

प्रकाशित: २० मंसिर २०७६ ११:४१ शुक्रबार

पर्यटन प्रवद्र्धन र्‍याली