समाज

तिलिचोमा रोकिएका २३ पर्यटक र १० गाइडको उद्धार

पोखरा- मनाङको तिलिचो ताल (४९१९ मि) पुगेका २३ जना विदेशी पदयात्री र उनीहरुका १० जना नेपाली सहयोगी गाइडको सकुशल उद्धार गरिएको छ। तिलिचो पुगेका ती पर्यटक हिमपात र अधिक हावा चलेपछि पैदल फर्किन सकेका थिएनन । ताल क्षेत्रमै अलपत्र परेका ती विदेशी पदयात्रीलाई हेलिकोप्टरबाट उद्धार गरिएको प्रहरीले बताएको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसपी  दीपक रेग्मीका अनुसार २३ जना ईन्डोनेसियाका नागरिक र उनीहरुका १० जना नेपाली गाइड, भरिया गरी ३३ जनाको टोली हिमपातपछि तिलिचो क्षेत्रमा अलपत्र परेका थिए। ‘तिलिचो तालमा पुगिसकेपछि हिमपात भएछ । अनि उनीहरु पैदलै फर्किन सकेनन,’ एसपी रेग्मीले भने, ‘पर्यटक र गाइड रोकिएको जानकारी पाएपछि उद्धारका लागि बुधबार बिहान पोखराबाट हेलिकप्टर पठाइएको थियो। हेलिकप्टरले सबै पर्यटकलाई पोखरा झारेको छ। उनीहरु सबै सकुशल छन्।’

तिलिचो ताल घुम्न गएका पर्यटक र गाइड अलपत्र परेको भन्ने जानकारी प्रहरीले मंगलबार बेलुकी साढे ६ बजे एकजना शेर्पामार्फत पाएको थियो। मनाङमा ङिस्याङ गाउँपालिका–९ मा ताल पर्छ। यो तालसम्म पुग्नका लागि पर्यटकले अन्नपुर्ण फेरोको मनाङ खण्डको पदमार्ग प्रयोग गर्नुपर्छ। बुधबार बिहानदेखि हेलिकप्टर परिचालन गरि तिचिलोबाट पालैपालो पर्यटकलाई मनाङ झारेर पोखरा ल्याइएको रेग्मीले बताए। 

पर्यटकका १० जना सहयोगी नेपाली गाइड र भरिया भने स्थलमार्गबाट फर्केका थिए। पर्यटकलाई हेलिकप्टरले पालैपालो मनाङ झारेपनि गाइडहरु भने पैदलै झरेका थिए। ‘तालमा पुगिसकेका पर्यटक फर्किन सक्ने अवस्था आएनछ। अनि प्रहरीलाई जानकारी गराएका रहेछन,’ उनले भने।

मनाङका डिएसपी टीकाबहादुर कार्कीका अनुसार उक्त क्षेत्रमा पछिल्लो समय निकै नै चिसो बढेको थियो। तिब्रगतिमा हावा पनि चलेका कारण पर्यटक रोकिएको उनले बताए। ‘ताल परिसरमा रोकिएका पर्यटकहरु रातभर टि सपमा आगो बालेर बसेका रहेछन,’कार्कीले भने, ‘बुधबार बिहान मात्र हेलिकोप्टर पुग्यो र उनीहरुको उद्धार गरेको हो।’

कार्कीका अनुसार ताल पुगेका पर्यटकहरु मंगलबार नै फर्किने गरि गएका थिए । तर, माथि पुगिसकेपछि अधिक चिसो हावा चलेको र हिमपात भएपछि पर्यटक रोकिएका थिए । रोकिएका पर्यटक हिमपातपछि झनै हतासिएका थिए। ‘दिउँसो नै तल झर्ने तयारीमा पर्यटक उक्लेका रहेछन, तर, माथि पुगिसकेपछि पर्यटकहरु तीब्रगतिको हावा र चिसोका कारण ओर्लिन सकेनन,’ उनले भने, ‘हिमपातले पैदलमार्ग पनि पुरिएपछि पर्यटक रोकिएका रहेछन्। अनि अत्तालिएर उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए।’

उनका अनुसार बेलैमा पर्यटक रोकिएको जानकारी पाएकोले सम्भावित क्षति टरेको छ। समुहमा रहेका एकजना शेर्पाले पर्यटक अलपत्र परेको जानकारी गराएपछि हेलिकप्टर पठाइएको थियो। गाडीमा फर्कदै गरेका गाइडलाई बुधबार बेलुकीसम्म लम्जुङ सदरमुकाम बेशीसहर झार्ने तयारी भईरहेको कार्कीले बताए। यो बेला पदयात्राको सिजन चलिरहेको छ। अन्नपूर्ण फेरोको पदयात्रामार्गबाट ती पर्यटक मनाङ हुँदै तिलिचो पुगेका थिए। ‘पदयात्रा सिजन चलिरहेको र यहीबेला हिमपातको सम्भावना पनि भएकोले पदयात्रामा जाँदा पर्यटकसचेत हुनुपर्ने अवस्था छ,’ उनले भने। 

प्रकाशित: १८ मंसिर २०७६ १५:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App