समाज

खोप लगाएपछि शिशुको मृत्यु

डोटी- खोप लगाएको १२ घण्टा नबित्दै जोरायल गाउँपालिकामा एक शिशुको मृत्यु भएको छ। जोरायल गाउँपालिका–१ का टेकबहादुर मल्लका चार महिनाका नाती प्रविण मल्लको ज्यान गएको हो।

उनलाई मंगलबार दुई बजे घण्टेश्वर स्वास्थ्य चौकी अन्तर्गतको खार खोप केन्द्रमा खोप लगाईएको थियो। जसमा ‘डिपिटी पेण्टा’ तेस्रो डोज, ‘एफआईपिभि’ दोस्रो डोज र ‘ओपिभी’ तेस्रो डोज गरी तीन वटा खोप लगाईएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बतााए।

खोप लगाएपछि मंगलबार राती सुतिरहेको बेला अकस्मात मृत्यु भएको परिवार स्रोतले जनाएको छ। मृतक प्रविणका बाजे टेकबहादुरले खोपकै कारण नाती मृत्यु भएको बताए।

मृत्युको कारणबारे पोष्टमार्टमपछि मात्रै भन्न सकिने स्वास्थ्य कार्यालय डोटीका प्रमुख मलासीले बताए। ‘दुषित भ्याक्सीनले समस्या सिर्जना हुन सक्ने अवस्था लाखौमा बिरलै हुन्छ,’ उनले भने, ‘त्यसको अवस्था हेर्न पनि खोप लगाएको आधा घण्टासम्म खोप केन्द्रमै बच्चा राखिन्छ। त्यतिञ्जेल केही भएन। राती मृत्यु भएछ।’ 
दुषित भ्याक्सीन कारण भएको भए अरु बच्चामा पनि समस्या देखिनसक्ने उनले बताए। उनले भने,‘अरुमा देखिएको छैन्। तैपनी पोष्टमार्टमपछि कारण थाहा होला।’ 

यसअघि २०६९ भदौ ३ गते डोटीकै काँडामाण्डौमा दुषित दादुराको खोप लगाउँदा ४ जना बालबालिकाको मृत्यु भएको थियो।

प्रकाशित: १८ मंसिर २०७६ १२:५३ बुधबार

खोप शिशु मृत्यु