समाज

छुट्टा–छुट्टै स्थानमा तीन जना मृत फेला

खोटाङ– खोटाङको छुट्टा–छुट्टै स्थानमा तीन जनाको शव फेला परेको छ। ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको देउरालीस्थित जंगलमा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–४ काउलेका अन्दाजी ६० बर्षिय टंकबहादुर राई, खोटाङको जन्तेढुङगा गाउँपालिका–४ डम्बर्खुशिवालयको सामाताङ खर्कडाँडाका अन्दाजी १७ वर्षीय भीमबहादुर दर्जी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकार–५ लफ्याङका अन्दाजी ८१ वर्षीय दीर्घराज राई मृत फेला परेका हुन्।

आफन्तलाई जानकारी नदिइ मंसिर १४ गतेदेखि वेपत्ता बनेका टंकबहादुरको शव मंगलबार जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए। घटनाबारे जानकारी आउनासाथ ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरीले कानूनी प्रकृया पुरा गरेर थप अनुसन्धा सुरु गरेको जनाएको छ।

भीमबहादुरको शव भने घर नजिकै झुण्डिएको अवस्थामा मंगलबार फेला परेको हो। सोही दिन बिहान विना जानकारी घरबाट हिँडेका भीमबहादुरको शव पोष्टमार्टमका लागि प्राथमिक स्वाथ्यकेन्द्र चिसापानी लैजाने तयारी भइरहेको प्रहरी निरिक्षक खेरवारले बताए।

यस्तै, मंगलबार बेलुका हराएका दीर्घराजको शव पनि बुधबार घर नजिकैको खोल्सामा फेला परेको प्रहरीले जनाएको छ। उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याईएको प्रहरी निरिक्षक खेरवारले बताए।

प्रकाशित: १८ मंसिर २०७६ ०८:५३ बुधबार

तीन शव फेला