समाज

निकोसेरा सडक मर्मत माग्दै स्थानीयद्वारा सवारी आवागमनमा रोक

भक्तपुर – मध्यपुर थिमिका स्थानीयले निकोसेरा सडकखण्ड यथाशीघ्र मर्मत गर्नु पर्ने माग गर्दै मंगलबार सवारी आवागमनमा रोक लगाएका छन्।

सल्लाघारीबाट काठमाडौं पुग्ने अरनिको राजमार्गको मुख्य वैकल्पिक सडक मर्मत नभएपछि स्थानीयले विरोधस्वरूप सवारी आवागमनमा रोक लगाएका हुन्।

स्थानीयले निकोसेराको अजिमा आयल स्टोरदेखि दुई सय ५० मिटर पूर्व पुरानो लोगो गार्मेन्टसम्मको सडकखण्डमा दुई ठाउँमा बाँस तेर्साएर सवारी आवागमन अवरुद्ध पारेका हुन्।

सरोकारवालाले यही हिउँदमा सडक मर्मत गर्ने प्रतिवद्धता गरे पनि चासो नदिएकाले विरोधमा उत्रिएको स्थानीय राजु कैटीले बताए। ‘दुई सय ५० मिटर सडकखण्ड मर्मत दुई वर्षमा नसक्ने स्थानीय नगरपालिका र सडक विभागले अरु के गर्न सक्छन् होला ?’ उनले प्रश्न गरे।

चार लेनको यो सडकखण्ड दुई वर्षदेखि बिग्रिएको छ। सडकमा ठुल्ठूला खाल्डाखुल्डी भएकाले वर्षायाममा पानी जमेर आवतजावत बन्द हुने गरेको स्थानीय बताउँछन्। हिउँदमा सडक धुलाम्मे हुँदा यात्रा गर्न मुस्किल हुने गरेको स्थानीयको भनाइ छ।

गत वर्षामा ठूला टिपर आवागमनका क्रममा भाँसिएपछि यो तस्बिर सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको थियो। त्यसपछि केन्द्रीय सरकारको समेत ध्यानाकर्षण भएको थियो।

त्यसपछि दुई गाडी ग्राभेल हालेर सडकका खाल्डाखुल्डी पुरिएको थियो। तर, त्यो घटनाको स्थानीयले विरोध गरेका थिए।

स्थानीय निशुल प्रजापतिले मंगलबारको विरोधपछि बुधबारबाट अस्थायी मर्मत सुुधार गर्ने सहमति भएको जनाए। मध्यपुर थिमि नगरपालिकामा भएको बैठकपछि सहमति भएको उनले बताए। पानीको निकास राम्रो नहुँदा सडक पटकपटक बिग्रने गरेको स्थानीय बताउँछन्।

प्रकाशित: १८ मंसिर २०७६ ०२:४९ बुधबार

निकोसेरा_सडक मर्मत