समाज

उपत्यकामा एकैदिन चार ठाउँमा चोरी

काठमाडौं – उपत्यकाका एकैदिन चार ठाउँमा चोरी भएका छन्। महालक्ष्मी नगरपालिका–४, इमाडोलमा डेरा गरी बस्ने मोरङ घर भएका खड्गबहादुर राईको कोठाबाट सुनचाँदीका गरगहना गरी करिब ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ।

ललितपुर महानगरपालिका–२८, हात्तीवनस्थित रकिन भान्सा घरबाट नगद तथा सुनका विभिन्न गरगहनासमेत गरी करिब ५ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको महानगरीय प्रहरी वृत, सातदोबाटोले जनाएको छ।

वृत प्रमुख गौतम मिश्रले चोरीको आरोपमा समातिएको जानकारी दिए। ‘अहिले दिउँसो पनि चोरी र लुटपाटका घटना बढ्न थालेका छन्,’ उनले भने, ‘सातदोबाटो र महालक्ष्मी क्षेत्रमा बढी चोरीका घटना भएपछि त्यतातिर बढी ध्यान दिएका छौं।’
उनका अनुसार भक्तपुर नगरपालिका–१, दुधपाटीस्थित सैनिक स्कुलको क्वाटरमा बस्ने रामेछाप, मन्थली नगरपालिका–५ घर भएका सरस्वती बोहोराको कोठाबाट सुनका विभिन्न गरगहना गरी करिब १ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल साँझ चोरी भएको छ।

प्रहरीले चोरीमा संलग्नलाई अझै फेला पार्न सकेको छैन। घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
ललितपुर महानगरपालिका इमाडोलस्थित विनोद बास्ताकोटीको घरबाट हीरा, सुन र चाँदीका विभिन्न गहरगहनासमेत गरी करिब ६ लाख ४० हजार रूपैयाँ चोरी भएको छ। चोरीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ मंसिर २०७६ ०२:२४ बुधबार

चोरी