समाज

बजारबीचमै फेला पर्‍यो कुद्दै गरेको मृग

दिक्तेलबजारमा फेला परेको मृगलाई वनमा लैजाने तयारी गर्दै सामुदायिक सेवा केन्द्रका प्रहरी र डिभिजन वन कार्यालयका कर्मचारी। तस्बिर:दमन/नागरिक

खोटाङ– खोटाङको दिक्तेलबजारमा फेला परेको घाइते मृगको उद्धार गरिएको छ। कुकुरले लेखेट्ने क्रममा दिक्तेलबजारभित्र छिरेर अत्तालिँदै कुदिरहेको अवस्थामा मंगलबार दारे (भाले) मृगलाई प्रहरीले उद्धार गरेको हो।

विभिन्न ठाउँमा चोट लागेको अवस्थामा फेला परेको मृगलाई जिल्ला डिभिजन वन कार्यालयको निर्देशनमा वनमा लगेर छाडिएको सामुदायिक सेवा केन्द्रका असई गोपी कट्वालले बताए।

मृगको नाक, फिला, बायाँ आँखामुनि लगायतका ठाउँमा चोट लागेको पाइएको छ। मान्छे देख्दा अत्तालिँदै जथाभावी कुद्दा चोट लागेको अनुमान गरिएको छ। घाइते मृगलाई दिक्तेलकै रत्नपार्कस्थित सामुदायिक सेवा केन्द्र नजिकै रहेको हिरालाल पुरीको घर अगाडि नियन्त्रणमा लिइएको थियो।

वन्यजन्तुलाई सुरक्षित राख्ने स्थान अभावमा मृगलाई तत्कालै सामुदायिक सेवा केन्द्रका प्रहरी र डिभिजन वन कार्यालयका कर्मचारीले सामुदायिक जंगलमा लगेर छाडेको हो।

 

प्रकाशित: १७ मंसिर २०७६ १२:२८ मंगलबार

बजार मृग फेला