समाज

चन्दननाथमा बन्यो कृषिबस्तु बिक्री केन्द्र

कृषि उपज संकलन तथा बिक्री केन्द्र उद्घाटन गर्दै मेयर कान्तिका सेजुवाल। तस्बिरः धनबहादुर/ नागरिक

जुम्ला- जुम्लाको चन्दननाथ नगरपालिका ५ जुगाडखोलामा कृषिबस्तु संकलन तथा बिक्री केन्द्र बनेको छ। कृषि विकास कार्यालय जुम्लाको झण्डै ९ लाख रुपैयाँको लागतमा बिक्री केन्द्र निर्माण भएको हो। बिक्री केन्द्रका लागि १५ लाख रुपैयाँ बजेट थियो। तर ९ लाख रुपैयाँमा निर्माण कार्य सकिएको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।

मंगलबार चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले रिबन काटेर बिक्री केन्द्रको उद्घाटन गरिन्। उनले भनिन्, ‘यहाँ उत्पादित कृषि उपज एकै ठाउँमा बिक्री गर्ने अवसर मिलेको छ। किसानले यो अवसरमा भरपुर प्रयोग गर्नु होला।’ पहिले कृषि उपज संकलन तथा बिक्री केन्द्र बनाउनको लागि निकै विवाद सिर्जना भए। तर बनिसकेपछि निकै राम्रो भएको छ।

मेयर सेजुवा भन्छिन्,‘ यो ठाउँ प्राविधिक हिसाबले निकै उपयुक्त पनि थियो। अहिले स्थानीय उत्पादन बिक्री केन्द्रको रुपमा स्थापित भइसकेको छ। उनले बिक्री केन्द्र र घरवरिपरिको वातावरण संरक्षण गर्न आग्रह गरिन्। फोहोर मैला जथाभावी नगर्नु होला, डोका या बोरामा राखेर घरमा लिएर कम्पोष्ट मल बनाउनु होला, उनले थपिन्, ‘ अबदेखि पुलमा एक जनाले पनि साग सब्जी र तरकारी राख्न पाइने छैन्। सबै उत्पादनको ब्यापार कृषि उपज बिक्री केन्द्रबाटै हुनुपर्ने व्यवस्था मिलाइदिएका छौं।’

नगरपालिकाले यहाँको कृषि उपजको संकलनलाई मध्येनजर गर्दै चारवटा बिक्री केन्द्र बनाउने योजना निर्माण गरेको छ। यहाँको कालेखोली, नगरपालिकाको कार्यालय लाइन्, हाइस्कुल लाइन् र बसपार्कमा बन्ने छन्। पहिले जापेकले बनाएको बिक्री केन्द्र मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।  

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा धेरै पहिलेदेखि बिक्री केन्द्रको पहल भएको बताउँछन्। अहिले बल्ल त्यो पहलले सार्थकता पायो।  नगरपालिकासंग समन्वय गरेर निर्माण भएको यो बिक्री केन्द्रको अत्याधिक प्रयोग गर्न किसानलाई आग्रह गरे। यो किसानको मागमा आधारित रहेर निर्माण गरिएको बिक्री केन्द्र हो, अब यहाँका किसानले भरपुर प्रयोग गरेर फाइदा लिनसक्नुपर्छ।

उपभोक्ता भेला हुने स्थान भएकोले बिक्री केन्द्रका लागि यो ठाउँ उपयुक्त बनेको हो। कर्णाली प्रदेशका कृषिमन्त्री बिमला केसीले पनि कृषि उपज संकलन केन्द्र अनिवार्य भएको बताउँदै आएकी थिइन्। यो बिक्री केन्द्रको अनुगमन गरेर भरपुर प्रयोगमा ल्याउन सुझाव दिइन्। उनले कृषि क्षेत्रमा गरिने हरेक काममा स्थानीय सरकार र किसान संग समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता जाहेर गरिन्।

चन्दननाथ नगरपालिका ५ का वडाध्यक्ष अर्जुनसिंह कठायतले संकलन तथा बिक्री केन्द्र भन्दा बाहिर रहेर कृषि बस्तु बिक्री गर्न नपाइने बताए। सडक पेटी, सडक र साघुँरो ठाउँमा कृषि बस्तु बिक्री गर्दा दुर्घटना बढ्न थालेको भन्दै दुर्घटना कम गर्न पनि यो संकलन केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। उनले यो केन्द्रलाई व्यवस्थित पार्न वडापालिकाले पाँच लाख रुपैयाँ बिनियोजन गरेको जानकारी दिए।

पहिलो पटक बिक्री केन्द्रबाट कृषि उपज बेच्न पाउदा किसान उत्साहित थिए। उनीहरुले बिक्री केन्द्र वरिपरिको वातावरण निकै सफा राख्ने प्रतिवद्धता जाहेर गरेका छन्।

 

 

प्रकाशित: १७ मंसिर २०७६ ०९:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App