समाज

मुआब्जा थोरै भएको भन्दै आरुघाटबासी आन्दोलित

गोरखा (आरुघाट)- बूढीगण्डकी जलविद्युत आयोजनाले आरुघाट, आर्खेत क्षेत्रको मुआब्जा थोरै निर्धारण गरेको भन्दै स्थानीय आन्दोलित बनेका छन्। जग्गाको वर्गिकरण, मुआब्जा निर्धारण गर्दा पाँच वर्ष अघि किनबेच भएको मूल्य भन्दा थोरै निर्धारण भएको भन्दै स्थानीय आक्रोशित बनेको छन्। सोमवार मुआब्जा घोषणा भएपछि बिरोधमा उत्रिएका उनीहरुले मंगलवार (आज) गाउँपालिका कार्यालय र वडा नम्बर ९ र १० मा तालबन्दी गरेका छन्। तालाबन्दीपछि गाउँपालिका र वडाको कामकाज ठप्प छ।

बिहानै देखि बजार, शिक्षण संस्था, यातायात, बित्तिय संस्था सबै ठप्प बनाएर मुआब्जा पुनरावलोकन गर्नुपर्ने माग गर्दै स्थानीय आन्दोलनमा उत्रिएको स्थानीय जगन्नाथ खनालले बताए। पहिले खरिद गरेको भन्दा सरकारले दिएको मुआब्जा रकम थोरै भएकाले आन्दोलन सँगै पुर्नविचार गर्न माथिल्लो दबाव दिइएको उनले बताए।

गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले जनतालाई अन्याय भएकाले मुआब्जाको दररेट बढाउनुपर्ने बताए। जनता सँग छलफलमा बस्ने र सरकारलाई निर्णय पुनरावलोकन गर्न आग्रह गर्ने बताए। गोरखाको आरुघाट, खहरे, धादीङ तर्फ आरुघाट र खहरे बजार पनि बन्द छ। मुआब्जा निर्धारण समितिले जग्गालाई बिभिन्न १० भागमा वर्गिकरण गरेर प्रतिआना ५० हजारदेखि ७ लाख मुआब्जा तोकेको छ। आरुघाटको पाँच सय ३७ र आर्खेतको ७२ गरी छ सय नौ रोपनी गोरखा तर्फ मुआब्जा निर्धारण भएको आयोजनाको बतावरण, मुआब्जा बितरण पुर्नवास तथा पुर्नस्थापना ईकाईका प्रमुख कृष्णबहादुर कार्कीले बताए। मुआब्जा निर्धारण गर्दा जग्गाको प्रकृती अनुसार बिभाजन गरिएको छ। त्यस बाहेक सम्पूर्ण घर जग्गा अधिग्रहणमा पर्ने बिस्थापितको अन्यत्र कहिँ कतै घर जग्गा नभएको भए र डुबान क्षेत्रमा २.५ आना मात्रै भए १५ प्रतिशत थप रकम पाउनेछन्। पाँच आना सम्म भएकाले १० प्रतिशत रकम थप गरेर मुआब्जा पाउने निर्णय गरिएको छ।

जग्गा बाहेक घर गोठ र बोटबिरुवाको मुआब्जा बितरणका लागि स्थलगत लगत संकलन गरेपछि बितरण हुने आयोजना कार्यालयले जनाएको छ। धादीङ तर्फ एक हजार एक सय ६१ आरुघाट र खहरेको पनि मुआब्जा निर्धारण भएको छ। यस अघि आयोजनाले २०७३ साल मंसिरमा डुबानमा पर्ने अन्य ठाउँको मुआब्जा निधारण गरेर गोरखा तर्फ २२ हजार सात सय १८ रोपनीको १३ अर्व ९४ करोड र धादीङ तर्फ २१ हजार नौ सय ३९ रोपनीको १२ अर्व ८९ करोड बितरण गरिसकेको जनाएको छ।

प्रकाशित: १७ मंसिर २०७६ ०६:५३ मंगलबार

मुआब्जा बुढीगण्डकी आरुघाट