समाज

'कुखुराको बजार मुल्य राम्रो छैन्, व्यवसाय बन्द गर्नुपर्ने भयो'

काठमाडौं- कुखुरा पालक किसानहरुले उत्पादन गरेको कुखुराले बजारमा राम्रो मुल्य नपाउँदा व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताएका छन्। नेपाल कुखुरा पालक किसान संघ र नेपाल कुखुरा बजार व्यवस्थापन संघले सोमबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा किसानहरुले बजारमा मुल्य नपाउँदा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताएका हुन्।

नेपाल कुखुरा पालक किसान संघका अध्यक्ष झनक पौडेलले सरकारले बेवास्ता गरेका कारण कुखुराको चल्ला र दानाको भाउ बढेको र तयारी कुखुराको भाउ घटेको गुनासो गरे। उनले कुखुराको दानामा कृत्रिम मुल्यवृद्धि हुँदा किसानको लागत बढेको उल्लेख गर्दै सरकारले किसानका समस्यालाई सम्बोधन गर्न नसकेको गुनासो गरे। उनले तयारी कुखुराको मुल्य निर्धारण वैज्ञानिक विधिबाट हुनुपर्ने मागसमेत गरे।

अध्यक्ष पौडेलले किसानले लागत मुल्यको आधारमा निश्चित नाफा पाउनुपर्ने मागसमेत गरे। कार्यक्रममा किसानहरुले बजारका व्यापारी र दाना उद्योगीहरुको बदमासीका कारण आफुहरु चेपुवामा परेको बताएका छन्। त्यस्तै किसानले उत्पादन गरेको कुखुराको मुल्य आफैले तोक्न पाउनुपर्ने मागसमेत उनीहरुको छ।

कुखुरा पालक किसानहरुले कुखुराको दाना, चल्ला र औषधीको मुल्य बढेको, गुणस्तरहिन दाना उत्पादन हुने, सप्लार्यसले प्रयोग गर्ने ढककाँटा ठिक नहुने, किसानको बजारसम्म पहुँच नहुनु तथा लगानीको अभाव हुनु र मुल्य निर्धारण एवं अनुगमन प्रक्रिया वैज्ञानिक नभएको लगायतका समस्या रहेको बताएका छन् । त्यसको समाधानका लागि सरकार गम्भीर हुनुपर्ने किसानहरुको भनाई छ। 

प्रकाशित: १६ मंसिर २०७६ ०९:५९ सोमबार

कुखुरा_पालक_किसान बजार_मुल्य