समाज

फेरी पर्‍यो नरभक्षी पोथी चितुवा खोरमा

तनहुँ- भानुमा चितुवा नियन्त्रणका लागि राखिएको चितुवाको परम्परागत खोर (पासो)मा आइतबार बिहान एक चितुवा परेको छ। तनहुँको भानु नगरपालिकाका ३ रिढीपानीस्थित कालिका सामुदायिक वनमा राखिएको खोर(पासो)मा चितुवा परेको हो।

अन्दाजी १० वर्ष र ५० केजी तौल भएको पोथी चितुवा खोरमा परेर नियन्त्रणमा आएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत बावुराम उप्रेतीले बताए। यसअघि दुई भाले र दुई पोथी गरी चार चितुवा नियन्त्रणमा आइसकेको छ। ‘काठको खोरमा रहेको चितुवालाई फलामको खोरमा सारेर चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको छ,’ उनले भने।

भानु क्षेत्रमा लगातार डेढ वर्षदेखी चितुवाको आक्रमण बढेपछि यहाँ डिभिजन वन कार्यालय, भानु नगरपालिका, सामुदायिक वन लगायतको सहयोगमा चितुवाको परम्परागत खोर पासो निर्माण गरेर चितुवा नियन्त्रण गरिदैँ आएको छ। चितुवा नियन्त्रणको लागि काठको परम्परागत खोर पासो प्रभावकारी समेत बन्दै आएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए।

चितुवा नियन्त्रणका लागि नगरपालिकाका विभिन्न सामुदायिक वनमा काठका खोर निर्माणपछि खोरमा अहिलेसम्म पाँच चितुवा नियन्त्रणमा आएका छन्। खोरमा परेका चितुवामध्ये दुईलाई चितवन राष्ट्रिय निकुञ्ज र एउटालाई बुटवलस्थित मणिमुकुन्दसेनको मिनी चिडियाखाना, एउटालाई रुपन्देहीको शङ्करनगरस्थित प्राणी उद्यानमा स्थानान्तरण गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ।

चितुवा नियन्त्रणका लागि विभिन्न प्रविधि अपनाइएपनि सबैभन्दा प्रभावकारी  काठको खोर पासो प्रभावकारी हुँदै आएको छ। भानु नगरपालिकाको वडा नम्वर १,२,३ र ४ मा बालबालिकामाथि आक्रमण गर्ने पोथी चितुवा हुन सक्ने अनुमान छ।

भाले भन्दा पोथी चितुवा नरभक्षी हुने वनका प्राविधिकको भनाइ छ। भानुका नरभक्षी चितुवा प्रभावित  चार वटै वडाका सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि काठका खोर निर्माण गरेर बाख्रा सहित राखिने गरिदै आएको भानु ३ का वडा अध्यक्ष दल नारायण श्रेष्ठले बताए।

भानु नगरपालिकामा डेढ वर्षको अन्तरालमा चितुवाको आक्रमणबाट ६ बालबालिकाको ज्यान गएको छ भने ७ बालबालिका घाइते भएका थिए। चितुवा नियन्त्रणमा आएपनि चितुवाको त्रास कायमै भएकाले सचेत हुनुपर्ने वडा अध्यक्ष श्रेष्ठले बताए।
 

प्रकाशित: १५ मंसिर २०७६ ०८:०५ आइतबार

भानु चितुवा खोर