समाज

शंख फुकेर काम नगर्ने ठेकेदार र सरकारको विरोध

चरिकोट–खाडीचौर सडकमा भईरहेको ढिलासुस्ती र लापरवाही विरुद्ध शनिबार जिल्लावासीले गरेको शंखघोष कार्यक्रम। तस्बिर: रमेश/नागरिक

दोलखा- जिल्लाको ‘लाईफलाईन’ चरिकोट खाडीचौर सडकमा ढिलासुस्ती र लापरवाहीको विरुद्ध दुई महिनादेखि आन्दोलनरत जिल्लावासीले शनिबार चरिकोटमा शंख फुकेर सरकार र काम नगर्ने ठेकेदारको विरोध गरेका छन्।

५ बर्षदेखि अलपत्र पारिएको सडक बनाउन माग राख्दै आएका आन्दोलनरत जिल्लावासीले शनिबार सदरमुकाम चरिकोटमा शंखघ्वस गरेर सरकार र काम नगर्ने ठेकेदारको कान र आँखा दुबै खुलोस् भन्दै सांकेतिक प्रर्दशन गरेका हुन्।

सातदोबाटो चोकबाट शंख फुक्दै सुरु भएको जुलुसले बजारको बिभिन्न भागको परिक्रमा गरेको थियो। अनौठो शैलीको विरोध कार्यक्रम र जुलुसमा बजारवासी, उद्योगी व्यवसायी पत्रकारसहित बिभिन्न पेशाकर्मीले साथ दिएका थिए। सातदोबाटो चोकमा आयोजित कोण सभामा ठेकेदार कम्पनी र सरकार विरुद्धको आन्दोलनका अभियन्ता चिरञ्जीवी मास्केले तत्काल काममा फर्किएर सडक बनाउन सुरु गरिएको खबरदारी जारी राख्ने बताए।

जिल्लामा आन्दोलन चर्किएपछि सडक विस्तार आयोजनाले गत मंगलबार चरिकोट–खाडीचौर सडक अन्तर्गत काम नगर्ने र सडक अलपत्र पार्ने मुडे–चरिकोट खण्डका निर्माण व्यवसायीहरु भारतीय सकिल हैदर र नेपाली कम्पनी शंकर माली साथै सुनौला खिम्तीको नाममा एक हप्ताभित्र काममा नफर्किए ठेक्का तोड्ने सूचना प्रकाशन गरेको थियो। यो खण्डको ठेकेदारले सडकमा सबै भन्दा बढी ढिलासुस्ती र लापरवाही देखाउदै आएको छ।

मुडेदेखि चरिकोटसम्म ३० किलोमिटरको यो खण्डमा एक भारतीय र दुई नेपाली कम्पनीको संयुक्त उपक्रम (साझेदारी) मा ठेक्का पाएपनि निर्माण व्यवसायीहरुको तर्फबाट नेपाली कम्पनी शंकर मालीले काम गर्ने जिम्मेवारी पाएको छ।

ठेक्का तोड्ने सूचना प्रकाशन भए लगत्तै बुधबारबाट शंकर मालीले चरिकोटदेखि महादेव खोलासम्म सडक कोट्याउने र मिलाउने काम सुरु गरेपनि त्यसलाई सूचना टार्न झारो टारिएको भन्दै अभियन्ताहरुले विरोध गरेका छन्। ‘कारवाहीबाट बच्न एउटा डोजर प्रयोग गरेर झारो टार्ने काम मान्दैनौं’ आन्दोलनका अर्का अभियान्ता दीपशंकर चौलागाईले भने– ‘मुडेदेखि चरिकोटसम्मको खण्डमा कम्तीमा पनि ४ ठाउँबाट काम सुरु हुनुपर्छ’। अभियान्ता मास्केले सबै स्रोत र साधनको अधिकतम प्रयोग गरेर आगामी बर्षात अगाडी कालोपत्रे सक्न आग्रह गरे।

सिन्धुपाल्चोकको खाडीचौर बजारदेखि चरिकोटसम्मको ५५ किलोमिटर खण्ड २०७१ सालमा टेण्डर लागेको थियो। २ ओटा प्याकेजमा टेण्डर गरिएको यो खण्डमा २५ किलोमिटरको पहिलो खण्ड सुनौला खिम्ती, गौरीपार्वती र भारतीय सिमाञ्चल कम्पनीले ठेक्कामा लिएको थियो। यो खण्डमा काम गर्ने जिम्मा लिएको नेपाली कम्पनी सुनौला खिम्ती कर सम्बन्धी मुद्धामा तानिएपछि यहाँ अर्को नेपाली कम्पनी गौरीपार्वती निर्माण सेवाले काम गरिरहेको छ। यो खण्डमा १३ किलोमिटर कालोपत्रे सकिएको छ।

सडकमा लापरवाही र ढिलासुस्ती विरुद्धको आन्दोलनका अभियान्ता गोकर्ण भण्डारीले यो खण्डको काम समेत ढिलाई भईरहेको बताए।



    

प्रकाशित: १४ मंसिर २०७६ ०९:३५ शनिबार

शंख ठेकेदार सरकार विरोध