समाज

चन्दननाथ नगरपालिकामा आगलागीका घटनामा वृद्धि

सिञ्जा- जुम्लाको चन्दननाथ नगरपालिकामा आगलागीका घटना बढ्दै भएका छन्।

चन्दननाथ नगरपालिका–२ भण्डारीवाडाका मानसिंह भण्डारीको घरमा बिहीबार साँझ आगलागी भएको छ।

भान्साको चुलोबाट सल्केर भएको आगलागीको धुँवाले गोठभित्र रहेको तीन वटा गोरु, एक वटा गाई र एउटा बाच्छो निसास्सिएर मरेको जुम्लाका प्रहरी वरिष्ठ उपरीक्षक लालबहादुर धामीले जानकारी दिए। क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको पनि उनले बताए।
    
यसभन्दा केही दिन अगाडि चन्दननाथ नगरपालिका–२ का गोविन्द्र भण्डारीको कालेखोलीमा रहेका २४ कोठे घर आगलागीमा जलेर नष्ट भएको थियो।

गत कात्तिक २३ गते चन्दननाथ नगरपालिका–५ का नवराज श्रेष्ठको घरमा पनि आगलागी भएको थियो। चन्दननाथ नगरपालिका–१ का जयबहादुर रावतको घरमा भदौ १६  आगलागी भएको थियो। नवराज श्रेष्ठको घरमा आगलागी हुँदा ६० लाख ७९ हजार रुपैयाँ र जयबहादुरको घरमा आगलागी हुँदा ७३ लाख रुपैयाँको क्षति भएको थियो। पछिल्लो समयमा जुम्लामा आगलागीका घटना बढिरहेका छन्।

प्रकाशित: १३ मंसिर २०७६ ०७:१२ शुक्रबार

चन्दननाथ नगरपालिका आगलागी