समाज

जेब्राक्रस कि मृत्युरेखा ?

काठमाडौं – छ दिनअघि (आइतबार) मर्निङ वाकमा निस्किएका एक चिकित्सक बानेश्वरमा जेब्राक्रसबाट सडक पार गर्दैगर्दा सडक दुर्घटनाको सिकार भए। उनी थिए सिभिल हस्पिटलमा काम गर्ने एनेस्थेसियाका वरिष्ठ चिकित्सक प्रभु जोशी। एकाबिहानै उनलाई ठक्कर दिएर गाडी भाग्यो। वरिपरि अँध्यारो भएकाले गाडी समात्न मुस्किल प-यो। यात्रुलाई ठक्कर दिएपछि चालकले गाडी हुइँक्याए। उज्यालो भएपछि आफन्तले महानगरीय प्रहरी वृत्त वानेश्वरमा उजुरी दिए।

प्रहरीले ठक्कर दिएर भागेका भक्तपुर सूर्यविनायक बस्ने चालक बुद्धिकुमार कोजूलाई मंगलबार रामेछापबाट बा३ख ६१४ नम्बरको बससहित नियन्त्रणमा लियो। काठमाडौं ल्याएपछि उनीमाथि कारबाही सुरु भएको प्रहरीको भनाइ छ। उक्त बसलाई रामेछापमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। चालकले भने दुर्घटना गराएको अस्वीकार गरेका छन्।

यसअघि गत कात्तिक २९ गते पनि तीनकुनेमा जेब्राक्रसबाट सडक पार गर्दैगर्दा भक्तपुरका किशोर बस्नेतलाई ट्रकले ठक्कर दियो। बाटो काट्दै गर्दा पैदलयात्रुलाई ठक्कर दिएपछि सिसी क्यामेराको आधारमा प्रहरीले चालकलाई पक्राउ गरेको थियो। यी दुई दृष्टान्तले जेब्राक्रसमै पनि पैदलयात्रु जोखिममा भएको देखाउँछन्। पैदलयात्रुले गल्ती नगर्दा पनि सवारीचालकको लापरबाहीले ठूला दुर्घटना भइरहेका छन्। तर सरकारले यसको समाधान खोज्न सकेको छैन।

कतिपय मुलुकमा जेब्राक्रसमा सवारीसाधनले ठक्कर दिएर पैदलयात्रुको मृत्यु भएमा हत्या मानी चालकलाई सोहीअनुसारको कारबाही हुन्छ। नेपालमा भने जेब्राक्रस वा अन्यत्र ठक्कर दिए पनि एकै किसिमको सजाय हुने भएकाले चालकको लापरबाही कम हुन सकेको छैन।

अरु देशमा जेब्राक्रसमा सवारीसाधनले ठक्कर दिएर पैदलयात्रुको ज्यान गयो भने त्यसलाई हत्याका रुपमा लिइन्छ र दुर्घटना गराउने चालकमाथि ज्यानमारा मुद्दा चलाइन्छ। बेलायतमा सडक पार गर्न जेब्राक्रसमा यात्रु पुगेपछि सवारीसाधन रोकिनुपर्छ, यात्रुले सडक पार नगरेसम्म अघि बढ्न पाइँदैन। ड्युटीमा नभएका दमकल, प्रहरी र एम्बुलेन्सलाई समेत यो नियम लागू छ। त्यहाँ ‘द हाइवे कोर्ट’ अन्तर्गत कारबाही हुन्छ। जेब्राक्रसमा ठक्कर दिएर यात्रुको मृत्यु भएमा आजीवन जेल सजाय, एक सय पाउन्ड जरिवाना र लाइसेन्समा एकैपटक तीनवटा प्वाल पारेर सजाय दिइन्छ। सामान्य सडक नियम पालना नगरेका चालकको नाम दुर्घटनासम्बन्धी अपराध रजिस्टरमा दर्ता हुन्छ। दुर्घटना गराएका चालकले त्यसपछि कुनै जागिर वा सरकारी सहयोग लिन पाउँदैनन्।

त्यस्तै छिमेकी मुलुक भुटानमा पनि पैदलयात्रुले जेब्राक्रसबाट सडक पार गरेपछि मात्रै सवारीचालक अघि बढ्न पाउने व्यवस्था छ। जबर्जस्ती पेलेर हिँडेको छ भने तुरुन्तै पाँच हजार भुटानी रुपैयाँ जरिवाना र अन्य कारबाही हुन्छ। जेब्राक्रसमा सवारीसाधनले ठक्कर दिएर यात्रुको ज्यान गए हत्या भएको मानिन्छ। तर नेपालको कानुनले जेब्राक्रस र अन्य ठाउँमा भएको दुर्घटनामा अन्तर गर्न सकेको छैन। दुवै घटनाको कारबाही सवारी ऐनअन्तर्गत हुन्छ। जेब्राक्रस र अन्य ठाउँमा सवारीसाधनले ठक्कर दिएर बटुवाको ज्यान गएको छ भने त्यसलाई फरक मानिँदैन। त्यसकारण पनि जेब्राक्रस भनेर चालकले खासै वास्ता गर्दैनन्, अन्य ठाउँमा जस्तै जेब्राक्रसमा पनि गाडी हुइँक्याउँछन्। यातायातविद् पुष्पराज पन्तले नेपालमा एकै खालको कानुन भएकाले जेब्राक्रस र अन्य ठाउँमा ठक्कर दिने चालकलाई एकै किसिमको कारबाही हुने गरेको बताए। ‘अन्य मुलुकमा जेब्राक्रसमा ठक्कर दिनुलाई हत्याजस्तै मानिन्छ, नियतले नै मारेको हो भन्ने हुन्छ,’ उनले भने, ‘तर हाम्रोमा जेब्राक्रस र अन्य ठाउँमा सवारीसाधनले ठक्कर दिँदा एकै किसिमको कारबाही हुन्छ। वास्तवमा जेब्राक्रसमा ठक्कर दिएर व्यक्तिको ज्यान लिनु हत्या नै हो, यसमा कडा कानुन चाहिन्छ।’ नेपालमा सवारीसाधनले ठक्कर दिएर व्यक्तिको ज्यान गएमा चालकलाई पाँचदेखि १५ वर्षसम्मको जेल सजाय र ५ लाख रुपैयाँ जरिवानाको व्यवस्था छ। जेब्राक्रसमा ठक्कर दिएर ज्यान गए पनि यति नै सजाय हुन्छ।

ट्राफिक विज्ञ तथा पूर्वट्राफिक प्रहरी सीताराम हाछेंथूले चालकले होस् नपु-याउँदा जेब्राक्रसमा आम नागरिकले ज्यान फाल्नुपरेको बताए। ‘उपत्यकामा सबैतिर अकासेपुल छैनन्। जेब्राक्रस पनि सही ठाउँमा राखिएको छैन। भएका केही जेब्राक्रसबाट सावधान भएर बाटो काट्दा पनि यात्रुले ज्यान गुमाउनुपरेको छ,’ उनले भने, ‘यसको समाधानको लागि आकासे पुल बनाउने, पैदलयात्रु र सवारी चालकलाई जनचेतना दिने, मेटिएका जेव्राक्रसमा मर्मत गर्ने, ठाउँ ठाउँमा लाइट राख्ने गरियो भने यो जोखिक कम हुन्छ।’ उनका अनुसार जेब्राक्रस हो भन्ने जानकारी हुँदाहुँदै पनि चालकले सवारीसाधन तीव्र गतिमा हाँक्दा त्यसले दुर्घटना निम्त्याएको हो। ट्राफिक प्रहरीमा कार्यरत छँदा आफूले यो विषय पटकपटक उठाएको उनले बताए। ‘मैले यस विषयमा ट्राफिक अधिकारीहरुसँग कुरा राखेको थिएँ तर जेब्राक्रसमा ठक्कर दिनेलाई सरकारले कडा कारबाही हुने कानुन बनाएन,’ उनले भने, ‘जेब्राक्रसमा ठक्कर दिने चालकलाई नयाँ कानुन बनाएर कडा कारबाही गर्नुपर्छ।’

एसपी रविकुमार पौडेलले जेब्राक्रसमा यात्रुलाई प्राथमिकता नदिँदा दुर्घटना हुने गरेको बताए। कतिपय सवारीसाधनले ओभरटेक गर्न जेब्राक्रसमा समेत सवारीसाधन हुइँक्याउने गरेका छन्। यस्ता सवारीसाधनलाई कारबाही गर्ने गरिएको महाशाखाले जनाएको छ।

प्रकाशित: १३ मंसिर २०७६ ०१:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App