पर्यटनमैत्री सुविधा विस्तार गर्न कर्णालीमा ४२ वटा पर्यटन पदमार्ग निर्माण गरिने भएको छ। पर्यटन क्षेत्रको संरक्षण, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले कर्णालीमा पदमार्ग निर्माण गर्न लागिएको हो।
पर्यटन पदमार्गका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस आर्थिक वर्षमा ११ करोड ४० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। सबैभन्दा बढी हुम्लामा नौवटा पदमार्ग निर्माण हुने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ। डोल्पामा सात, सुर्खेतमा तीन, जाजरकोटमा तीन, सल्यानमा तीन, जुम्लामा ६ वटा पदमार्ग निर्माण हुने छन्। कालीकोट तीन, दैलेख एक र मुगुमा सातवटा पर्यटन पदमार्ग निर्माण हुँदै छन्। पर्यटकीय पदमार्गका लागि एक पदमार्गमा ५० देखि १५ लाख रूपैयाँसम्म रकम विनियोजन गरिएको छ।
रुकुम पश्चिममा भने पदमार्गहरूको योजना दस्तावेजसहितको सम्भाव्यता अध्ययन गर्ने भनिएको छ। सम्भाव्यता रुकुम पश्चिमलगायतका जिल्लामा हुने छन्। रारादेखि तिहारबगर–चिताइगाउँ–डोल्पुगाउँ–शेगुम्बा हुँदै शे–फोक्सुण्डो तालसम्म अर्काे पदमार्ग रारादेखि चंखेली हुँदै सर्केगाड–सिमीकोट–लिमी उपत्यका हुँदै हिल्सासम्मको पर्यटकीय पदमार्गको सम्भाव्यता अध्ययन हुनेछ। यसलाई कर्णाली हिमालयन पदमार्गसमेत भनिएको छ।
त्यस्तै, प्रदेश नम्बर ५ को पूर्वी रुकुमस्थित सिस्ने हुँदै कर्णाली प्रदेशको रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसीकोट–रिम्नाबगर–जलजला–जाजरकोट–चन्दननाथ हुँदै रारासम्मको पर्यटकीय पदमार्गको अध्ययन गरिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सहायक वन अधिकृत प्रकाश बस्नेतले जानकारी दिए। उनका अनुसार यसलाई गुरिल्ला पदमार्ग नामाकरण गरिएको छ। यसले मुगुमा भएको रारा ताललाई विशेगा प्राथमिकतामा राखेको छ।
जुफाल–शाइकुमारी–रुपपाटन–सुनदह–सहरतारा तातोपानी–लासीक्याप–व्यासऋषि चौरीरोमन–फोक्सुण्डो ताल हुँदै मुकुटेश्वर हिमाल–त्रिपुरासुन्दरी–जुफालसम्मको पर्यटकीय पदमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने उनको भनाइ छ। पदमार्गमा आवश्यक विश्रामस्थल, सुरक्षा संकेत, पुल साँघुलगायतका आवश्यक सुविधा तथा पूर्वाधारको निर्माण गरिने छ। पैदल मार्गमा भूक्षय तथा पहिरो नियन्त्रण, पदमार्ग अवरुद्ध पार्ने झाडी, बुट्यान, काँडा, ढुंगा, चट्टान बाटोबाट पन्छाउने कार्य गरिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको पर्यटन शाखाकी अधिकृत अञ्जु चौधरीले जानकारी दिइन्।
उनका अनुसार उकाली ओरालीमा ढुंगा छाप्ने, ससाना खोल्सीमा फड्के वा ससाना कलभर्ट निर्माण गरिने छ। पर्यटन पदमार्गको ठाउँठाउँमा स्वच्छ खानेपानी र शौचालयलगायतको व्यवस्था गरिने उनको भनाइ छ। यो पदमार्ग जुम्ला, डोल्पा, दैलेख, सुर्खेत र रुकुम पश्चिममा गरिने छ। जसका लागि एक करोड रूपैयाँ विनियोजन भएको छ।
पहिचान भएका वा सम्भाव्यता पर्यटकीय गन्तव्यको पहिचान गरी त्यस्ता गन्तव्यमा आवश्यक पदमार्ग निर्माण, स्तरोन्नति, सेवा विस्तारलगायतका कार्य गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ। यसले पर्यटकीय गतिविधि अभिवृद्धि गरी जनताको जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ। पदमार्ग निर्माण हुँदा ओझेलमा परेका पर्यटकीय क्षेत्रसम्म पर्यटक पुग्ने पर्यटन व्यवसायी रुकुम पश्चिमका गोपाल केसीले बताए। उनका अनुसार यसले स्थानीयको आयस्रोतसमेत वृद्धि गर्न सहयोग गरिने छ। पर्यटकीय पदमार्ग निर्माण हुने भएपछि पर्यटन व्यवसायी पनि खुसी भएका छन्।
उनले कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पदमार्ग निर्माण गर्न पर्यटन व्यवसायी र स्थानीयसँग परामर्श गरेर पर्यटकीय महत्वका आधारमा पदमार्ग निर्माण गर्नुपर्नेमा जोड दिए। तर अहिले निर्माण हुुने अधिकांश पदमार्ग नाम मात्रको पर्यटकीयस्थल जानमै केन्द्रित छन्। पदमार्ग पर्यटकलाई आउँजाउँमा सहज होस्, पर्यटकको सहजै पहुँच पुग्न सकोस् र पर्यटकीयस्थलको प्रचारप्रसार अत्यधिक होस् भन्ने हेतुले निर्माण हुनुपर्ने उनको भनाइ छ।
कर्णाली प्रदेश सरकारले पर्यटकीय गन्तव्यको सूचीमा राखेका पर्यटकीय क्षेत्रलाई प्राथमिकता दिनुपर्ने दैलेख दुल्लुका पर्यटन व्यवसायी राजु आचार्यले बताए। सामान्य देवीदेवता र उच्च क्षेत्रलाई मात्र केन्द्रित गर्न नहुने उनको भनाइ छ।
डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, जुम्लाको सिंजा उपत्यका, मुगुको राता ताल, दैलेखको पञ्चकोसी धार्मिक पर्यटन विकास (पञ्चकोसी ज्वाला क्षेत्र) र सुर्खेतको काँक्रेविहार, देउतीबज्यै र मदन आश्रित पार्क प्रमुख पर्यटकीय क्षेत्र हुन्। सल्यानको कुपिन्डे दह, जुम्लाको डुडुल चैत्य, हुम्लाको लिमी उपत्यका, कालीकोटको पचाल झरना, जाजरकोटको खलंगा दरबार क्षेत्र, दैलेखको कोतगढी–पञ्चदेवल–बेलासपुर–महाबु पर्यटकीय विकास क्षेत्र, सुर्खेतको जाजुरा दह, गुप्ती ताल, भादले गुफा, शिव गुफा, गिद्देडाँडा र रुकुम पश्चिम गोतामकोट चित्री पाटन, स्यार्पु ताल, मौराखारा लेक पर्यटकीय क्षेत्र हुन्। एक सय नयाँ पर्यटकीय गन्तव्यमा कर्णालीका २१ वटा पर्यटकीय क्षेत्र समावेश छन्।
वीरेन्द्ररनगरबाट गणेश विशु, जुम्लाबाट धनबहादुर बुढा, दैलेखबाट गोविन्द केसी।
प्रकाशित: १२ मंसिर २०७६ १०:५६ बिहीबार