समाज

नरैनापुरमा ‘झोले चिकित्सक’को दबदबा

बाँके- स्वास्थ्यचौकीमा चिकित्सक नहुनु र भए पनि उपचारका लागि चाहिने प्रविधि र औषधि अभाव हुँदा गाउँमा ‘झोले चिकित्सक’को दबदबा कायम छ।

पैतालीस हजार जनसङ्ख्या रहेको नरैनापुर गाउँपालिकामा छ स्वास्थ्यचौकी छन्, तर औषधिको अभाव भने सधैँ भइरहन्छ। नरैनापुरका गाउँहरुमा ‘झोले चिकित्सक’ले स्वास्थ्य सुविधा धानिरहेका छन्। ‘झोले चिकित्सक’कै उपचारका कारण वर्षेनी ज्यान गुमाउनेको सङ्ख्या धेरै छ। गाउँमा कोही बिरामी हुँदा ‘झोले चिकित्सक’ बोलाइन्छ, बिरामीको मृत्यु हुन्छ, परिवारमा केही दिन रुवावासी हुन्छ, घटनाको चर्चा विस्तारै सेलाउँदै जान्छ र ‘झोले चिकित्सक’ले उन्मुक्ति पाउँछ।

नरैनापुरमा ३५ भन्दा बढी ‘झोले चिकित्सक’ रहेको अनुमान छ। यिनै ३५ ‘झोले चिकित्सक’ले धानेको स्वास्थ्य सुविधाकै कारण धेरैले ज्यान गुमाउँछन्। यसको मुख्य कारण स्वास्थ्यचौकीमा चिकित्सक नहुनु र भए पनि उपचारका लागि चाहिने प्रविधि र औषधिको अभाव हुनु भएको नरैनापुरवासीको भनाइ छ।

नरैनापुरमा छ वडा छन्, हरेक गाउँमा कम्तीमा दुईका दरले ‘झोले चिकित्सक’ छन्। मुस्किलले १० कक्षासम्म पढेका र भारतको बहराइचलगायत केही शहरका क्लिनिकमा एक/दुई वर्षमात्र प्रशिक्षण लिएर सीमावर्ती गाउँमा ठूलै डाक्टरको रुपमा आफ्नो क्लिनिक स्थापित गर्ने ३५ भन्दा बढी ‘झोले चिकित्सक’ले नरैनापुरको स्वास्थ्य सेवा धान्दै आएका छन्।

झोले चिकित्सक’बारे जब कसैको मृत्यु हुन्छ, अनि मात्रै चर्चा हुन्छ। केही समय चर्चा हुन्छ, त्यसपछि सामान्य स्थिति कायम गर्दै ‘झोले चिकित्सक’ले पुनः आफ्नो पेशा शुरु गर्छन्। बाँकेको नरैनापुर गाउँपालिकामा मङ्सिर १६ गते ‘झोले चिकित्सक’को उपचारबाट दुई जनाको ज्यान गएपछि चिकित्सकले चर्चा पाए। भारत श्रावस्ती जिल्लाको मनकौरा गाउँका ‘झोले चिकित्सक’ राजेश सिंहले उपचार गर्दा नरैनापुर–५ मटेहियाका ३० वर्षीय गयाराज धोबी र राप्तीसोनारी गाउँपालिका–७ गेंदवाका २८ वर्षीय मालिकराम धोबीको ज्यान गयो। घरमा मुण्डनको कार्यक्रममा भोज खाएपछि गयाराज र मालिकरामलाई बान्ता भएपछि उनै ‘झोले चिकित्सक’ सिंहलाई बोलाइएको थियो।

बान्ता हुने क्रम बढेपछि परिवारका सदस्यले उनै ‘झोले चिकित्सक’ सिंहको उपचारपछि बिरामीलाई निको हुनुको साटो दुवैको मृत्यु भयो। इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज मानबहादुर बिसीले भने, 'उपचारकै क्रममा गयाराजको मृत्यु भयो, मालिकरामलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा ज्यान गयो।'

दुई जनाको मृत्यु घटनामा संलग्नता रहेका ‘झोले चिकित्सक’ सिंहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज बिसीले बताए। “हामीले नरैनापुर क्षेत्रमा रहेका अवैध औषधि पसल र ‘झोले चिकित्सक’हरुको पहिचान गरिरहेका छौँ। अवैध औषधि पसलमा शिल गरेर ‘झोले चिकित्सक’लाई कारवाहीको दायरामा ल्याउँछौँ”, उनले भने।

'करिब २५ वर्षदेखि गाउँमा अवैध उपचार गरेर बस्दै आएका उनै ‘झोले चिकित्सक’ राजेश सिंहको यो पहिलो घटना होइन', स्थानीय मयाराम धोबीले भने, 'धेरै मान्छेको मृत्यु भयो तर मृत्युको जाँच नभएका कारण कुरा खुलेन।' तीन दिनअघि फेरि दुईको ज्यान गयो। मृत्युपछि दुवैको शव परीक्षणपछि अन्त्येष्टि गरिएको छ।

घटनापछि स्थानीय स्वास्थ्य अवस्थाबारे प्रश्न खडा भइरहँदा स्वास्थ्यचौकी मटेहिया, गङ्गापुर, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर र कटकुइँयामा समयमा औषधि नपुग्ने गरेको गुनासो बाहिर आएको छ। स्वास्थ्यचौकी मटेहियाका इन्चार्ज प्रेम बुढाले समयमा औषधि नभएका कारण पटक–पटक बिरामी फर्काउनुको विकल्प नरहेको बताए। 'अर्डरअनुसार औषधि प्राप्त हुँदैन', उनले भने, 'अहिले सामान्य औषधि सिटामोलसमेत छैन।' स्वास्थ्यचौकीबाट समयमा माग नआएका कारण औषधि अपुग हुनगएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक मोइन खाँले बताए। 'समयमै औषधि माग नगरेपछि अभाव हुनु स्वभाविक हो', उनले भने, 'खपत भएकैले औषधि सकिनु ठूलो कुरा होइन।'

स्वास्थ्य संयोजक खाँले गाउँपालिकाभित्र रहेका अवैध औषधि पसलहरुको तथ्याङ्क लिन शुरु गरेको बताए। 'हामीले अवैधरूपमा सञ्चालनमा रहेका औषधि पसल र ‘झोले चिकित्सक’हरुको खोजतलास शुरु गरेका छौँ', उनले भने, 'हाम्रो गाउँपालिकामा अवैध मेडिकल माफियालाई कुनै स्थान छैन।'

सोमबार दुई जनाको मृत्यु भएपछि मङ्गलबार घटनास्थल पुगेकी प्रदेशसभा सदस्य कृष्ण केसी ‘नमूना’ले पीडित परिवारसँग भेटघाट गर्दै नरैनापुर क्षेत्रमा रहेका अवैध औषधि पसलहरु बन्द गर्न निर्देशन दिएको बताइन्। प्रदेशसभा सदस्य नमूनाले भनिन्, 'गाउँमा रहेका अवैध क्लिनिक शिल गर्न प्रहरीलाई निर्देशन दिएका छौँ, अब यस्ता घटना दोहोरिनुहुँदैन।'

प्रकाशित: १२ मंसिर २०७६ ०७:३९ बिहीबार

नरैनापुर चिकित्सक