समाज

कीर्ते हस्ताक्षर गरी पैसा निकाल्ने गिरोह पक्राउ

काठमाडौं – अरुको हस्ताक्षर नक्कल गरेर बैंकबाट लाखौं रकम झिक्ने ६ जनाको गिरोहलाई प्रहरीले बुधबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं, कालीमाटी बस्ने १९ वर्षीय सुभाष श्रेष्ठ, १८ वर्षीय मनिष घिमिरे, २१ वर्षीय अन्जन बराल, १९ वर्षीय कुमार तामाङ, काठमाडौं बुद्धनगर, काठमाडौं सुविधानगर बस्ने ३० वर्षीय गोविन्द घिमिरे र २५ वर्षीय सुमन पौडेल छन्।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले जनता बैंकका खाताधनी गोपालमान राजवाहकको चेकबुक हराएको निवेदन दिएर त्यही चेकबाट रकम झिकेका थिए। आफ्नो बैंक खाताबाट रकम झिकेको मोबाइलमा म्यासेज आएपछि गोपालमानले प्रहरीलाई घटनाबारे खबर गरेका थिए। त्यसपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो।

प्रहरीले उनीहरूबाट १८ लाख ५० हजार रूपैयाँ बरामद गरेको छ। यस्तै, विभिन्न हस्ताक्षर नमुना, विभिन्न व्यक्तिको नाम उल्लेख गरिएको डायरी, नयाँ खाता खोल्न फोटो टाँसेको तयारी फाराम र विभिन्न बैंकका चेकबुक तथा पैसा निकाल्न काटिएका चेक पनि प्रहरीले बरामद गरेको छ।
‘यो योजनाबद्ध र मिलेर गरेको अपराध हो,’ महानगरीय प्रहरी परिसरका एसपी अशोक सिंहले भने, ‘यसमा बैंकका कर्मचारीको समेत मिलोमतो हुनसक्छ।’

उनीहरूले जनता बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड, ज्योती विकास बैंक लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड, एनआइसी एसिया बैंक, एभरेस्ट बैंक लिमिटेडलगायत बैंकका चेक थान बोकेका थिए। त्यस्तै, पैसा निकाल्न काटिएका चेक पनि फेला परेको छ।

प्रकाशित: १२ मंसिर २०७६ ०४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App