समाज

सर्वाेच्चमा रजिस्ट्रारलाई अधिकारविहीन बनाउने प्रयास

काठमाडौं – सर्वाेच्च अदालतका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले बहालवाला दुई रजिस्ट्रारको अधिकार खोसेर सहरजिस्ट्रारलाई प्रत्यायोजन गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको निर्देशनमा रजिस्ट्रारद्वय नारायण पन्थी र लालबहादुर कुँवरलाई कामविहीन बनाउन उनीहरुको अधिकार खोसेर सहरजिस्ट्रारलाई प्रत्यायोजन गरिएको स्रोतको दाबी छ।

‘सर्वाेच्च अदालत नियमावलीले रजिस्ट्रारलाई भनी किटान गरेका अधिकार उनीहरुमातहतकै सहरजिस्ट्रारहरु नेत्र आचार्य र नारायण पोखरेललाई सुम्पिइएको छ,’ स्रोतले भन्यो, ‘तर पन्थी र कुँवर यो विषयमा प्रधानन्यायाधीशको डरले बोल्न सकेका छैनन्।’

सर्वाेच्च अदालत नियमावली २०७४ को नियम ९ ले रजिस्ट्रारलाई मुख्य रजिस्ट्रारको सामान्य नियन्त्रण र निर्देशनमा रही सरकारी बिगो, जरिवाना र कैदबापतको धरौटी वा जमानत लिई पुनरावेदन दर्ता गराउने, कोर्ट फीलगायत दाखिला गराउने, मुद्दामा जमानी नलिई तारेखमा छाडिदिने, कानुनबमोजिम म्याद तारिख थमाइदिनेलगायतका अधिकार दिएको छ। यसैगरी अवहेलनाको मुद्दामा कार्यविधि तय गर्ने, इजलासले तोकिदिएको कार्य गर्ने, वारेस लिने र सकार गराउने, मुद्दाको कारबाहीसम्बन्धी अन्य आवश्यक कार्य गर्नेलगायत अधिकारसमेत रजिस्ट्रारलाई छ।

‘रजिस्ट्रारहरु अधिकारविहीन त भए नै, मुख्य रजिस्ट्रारले आफूअनुकूल वा न्यायिक नेतृत्वअनुकूल काम नगर्ने अधिकारीलाई एक्ल्याउन सक्ने गलत परिपाटी सुरु भएको छ’, स्रोतले भन्यो। कात्तिक २० गते जारी गरिएको चलानी नं. ४५० र ४५१ मार्फत दुई रजिस्ट्रारलाई अधिकारविहीन बनाई उनीहरूले प्रयोग गर्दै आएको अधिकार मुद्दा तथा रिट महाशाखा प्रमुखलाई दिँदा न्यायपालिकाको प्रशासनिक पदसोपान भंग भएको समेत सूत्रको दाबी छ। ‘आफ्नो स्वविवेकमा निर्णय गर्न रोक्ने यो एउटा ठूलो कदम हो,’ स्रोतको दाबी छ। नियमावलीको नियम ८ ले मुख्य रजिस्ट्रारलाई न्यायिक प्रशासनको मुख्य जिम्मा दिएको भए पनि नियमावलीले नै रजिस्ट्रारको अधिकार भनी उल्लेख गरेकाले त्यस्तो अधिकार मुख्य रजिस्ट्रारले अरुलाई प्रत्यायोजन गर्न सक्दैनन्। मुख्य रजिस्ट्रारलाई प्रधानन्यायाधीशको निर्देशन र नियन्त्रणमा रही प्रशासनिक प्रमुखको रुपमा अदालतको व्यवस्थापन र कर्मचारी खटाउन सक्ने अधिकार भने छ।

रजिस्ट्रार कुँवरले अख्तियार प्रत्यायोजनको पत्र जारी गर्दा बुझाइमा केही समस्या देखिए पनि अहिले समाधान भइसकेको बताए।

मुख्य रजिस्ट्रार निरौलाले भने आफूले पत्र जारी गर्दा सामान्य त्रुटि गरेकोमा जाइलाग्नेहरु मिडियामा पुगेको प्रतिक्रिया दिए। ‘कोही व्यक्ति मेरो पछि लागेको छ, त्यो मैले अनुसन्धान गरिरहेको छु,’ उनले भने, ‘मुख्य रजिस्ट्रार अदालतको प्रमुख प्रशासक हो। सोही बमोजिम मैले पत्र जारी गरेको हुँ। पत्र जारी गर्दा भएको गल्ती सुधार भइसकेको छ।’

प्रकाशित: १२ मंसिर २०७६ ०३:२४ बिहीबार

सर्वाेच्च_अदालत रजिस्ट्रार अधिकारविहीन