समाज

उपनिर्वाचनको पूर्वसन्ध्यामा साँढे नौसय लिटर घरेलु मदिरा बरामद

बरामद घरेलु मदिरा बुधबार बिहान फुलजोर खोलामा पोखेर नष्ट गर्ने तयारीमा सुरक्षाकर्मी लगायत। तस्बिरःटंक/नागरिक

सर्लाही- उपनिर्वाचन हुने सर्लाहीको हरिपूर्वा नगरपालिका लगायत क्षेत्रबाट प्रहरीले साँढे नौसय लिटर घरेलु मदिरा बरामद गरेको छ।

ईलाका प्रहरी कार्यालय केशरगंजको टोलीले गस्ती गर्ने क्रममा उपनिर्वाचन हुने हरिपूर्वा नगरपालिका वडा नं. १ सहित आफ्नो क्षेत्रभित्रबाट उक्त मदिरा बरामद गरेको हो। बरामद मदिरा बुधबार बिहान जनप्रतिनिधि, संचारकर्मी लगाएतको रोहबरमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक जयकृष्ण प्रसाद कुर्मीले जानकारी दिए।

‘विभिन्न ठाउँबाट बरामद गरिएको घरेलु मदिरा आज बिहान स्थानीय फुलजोर खोलामा पोखेर नष्ट पारिएको छ’, प्रहरी निरीक्षक कुर्मीले भने, ‘उपनिर्वाचन अन्तर्गत शान्ति सुव्यवस्था कायम गराउन गस्ती बढाइएको र घरेलु मदिरा बरामद अभियान समेत चलाइएको छ।’ जिल्ला स्थित गाउँ–गाउँमा घरेलु मदिराको किनबेच हुने भएकाले मदिरा सेवन पश्चात् स्थानीयबीच विवाद बढ्ने र ठूला खाले झडपका घटना समेत हुने गरेको छ।

उपनिर्वाचनलाई ध्यान दिँदै घरेलु मदिरा किनबेचमा कडाई गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। केही दिनअघि बसेको जिल्ला सुरक्षा समितिको बैठकले उपनिर्वाचन हुने क्षेत्रमा मदिरा किनबेचमा निषेध समेत गरिसकेको छ।

 

प्रकाशित: ११ मंसिर २०७६ ०८:२४ बुधबार

उपनिर्वाचन पूर्वसन्ध्या घरेलु_मदिरा