समाज

ठेकेदारविरुद्ध अदालत जाने तयारीमा दोलखावासी

चरिकोट–खाडीचौर सडकमा ढिलासुस्ती विरुद्ध शनिबार दोलखा सदरमुकाम चरिकोटमा निकालिएको सिठी जुलुस। तस्बिरः रमेश/नागरिक

दोलखा– खाडीचौर–चरिकोट सडक विस्तारको काम तत्काल सम्पन्न गर्न माग गर्दै जिल्लाका नागरिक सडक संघर्ष देखि अदालत जानेसम्मको तयारी गरिरहका छन्।

पाँच बर्ष देखी सडक अलपत्र परेको भन्दै उनीहरु ठेकेदार कम्पनी र सडक विभागविरुद्ध आन्दोलित छन्। 

दोलखाको ‘लाईफलाईन’ खाडीचौर–चरिकोट सडक अलपत्र पार्ने ठेकेदार कम्पनीका मालिकको फोटो गाडीमा टालेर सांकेतिक विरोध सुरु गरेका दोलखाबासीले त्यस यता चरिकोटमा मानव साङलो र सिठ्ठी जुलुस निकालेका छन्।

‘सडक विभाग र ठेकेदार कम्पनीको कान खुलोस भनेर शनिबार बिहान सदरमुकाम चरिकोटमा सिठी जुलुस आयोजना गरेका हौं’, नागरिक आन्दोलनका अभियान्ता चिरञ्जीवी मास्केले भने। 

सिठ्ठी जुलुस पछि सातदोबाटो चोकमा आयोजित कोणसभामा अभियानताहरुले ठेकेदारलाई तत्काल काममा फर्किन आग्रह गरे। ‘काममा वेवास्ता गरे आन्दोलन अझ चर्काईदै लागिने छ’ अभियान्ता मास्केले चेतावनी दिदैं भने।

 त्यस्तै पत्रकार महासंघका जिल्ला अध्यक्ष जीवन लामाले विकास निर्माणमा राज्य र निर्माण व्यवसायीको लापरवाहीका कारण नागरिकले सास्ती व्यहोर्नुपरेपछि जिल्लाबासी सडक संघर्षमा आउन बाध्य हुनु परेको बताए। 

दोश्रो चरणको आन्दोलन अन्तर्गत स्थानीयले आईतबार जिल्लाका कानून व्यवसायीहरु संग छलफल गरेका छन्। बार एशोसियसन दोलखाको हलमा भएको छलफल कार्यक्रममा काम नगर्ने ठेकेदार कम्पनी, सडक विभाग, सडक आयोजना र परामर्शदातालाई विपक्षी बनाएर सडक बनाउने समय सीमा सहित अन्तरिम आदेशको माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गर्न कानून व्यवसायीहरुले सुझाएका थिए।

दोलखा बार ईकाईका अध्यक्ष सरोज उप्रेतीले तत्काल समय सीमा तोकिदिन आग्रह गर्दै अदालत जान सुझाव दिएका थिए। आईतबारको छलफल लगतै अधिवक्ता प्रविण प्रधानले उच्च अदालतमा रिट दायर गर्ने भएका छन्। 

अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको खाडीचौर देखी सुरु हुने लामोसाँघु–जिरी सडकलाई स्तरोन्नती गर्ने भन्दै सरकारले ५ बर्ष अघि पहिलो चरणमा खाडीचौर देखी चरिकोट सम्म ठेक्का लगाएको थियो।

सवा अर्ब लागतमा दुई ओटा प्याकेजमा बाँडेर निकालिएको ठेक्का मध्ये २५ किलोमिटरको खाडीचौर मुडे खण्डमा ५ बर्षमा १३ किलोमिटर मात्र कालोपत्रे भएको छ भने ३० किलोमिटरको मुडे–चरिकोटखण्डको प्रगती विवरण शुन्य छ। 

 

 

प्रकाशित: ८ मंसिर २०७६ ११:३९ आइतबार

खाडीचौर–चरिकोट संघर्ष