दोलखा- वस्तीमा मानिसहरु विरामी परेको, वस्तुभाउ मरेको साथै बोक्सीले ‘भेदेको’ कारण गाउँमा रहेका झाँक्रीहरुसमेत काम्न छाडेको आरोप लगाउँदै उत्तरी गाउँ चिलंखाका एक दम्पतीलाई गाउँले भेलामार्फत लिखित निर्णय गरी गाउँ निकाला गरिएको छ।
जिल्लाको विगु गाउँपालिका–५ स्थित चिलंखाको स्याँखु गाउँका एक दम्पतीमाथि ‘बोक्सा–बोक्सी’को आरोप लगाउँदै टोल सुधार समितिको भेला बोलाएर १ सय १३ जना स्थानीयले हस्ताक्षर गरी गाउँ निकाला गरेका हुन्। उक्त भेलामा वृद्ध दम्पतीलाई आरोप स्वीकार गर्न ल्याप्चेसमेत गर्न लगाइएको छ।
स्यााखु गाउँका ५८ वर्षीया रत्नबहादुर श्रेष्ठ र उनी श्रीमती कृष्णकुमारी श्रेष्ठलाई मंसिर १ गते गाउँलेले भेला गरी ‘इन्द्रजाल’ किताब कण्ठ पारेर गाउँभरी ‘भेदेका’ कारण गाउँले विरामी परेको र वस्तुभाउ मरेको आरोप लगाएका थिए। गाउँले भेलाको अडियो रेकर्डमा श्रेष्ठ दम्पतीलाई गाउँलेले लगाएको आरोप र उनीहरुले आफुहरु ‘बोक्सा बोक्सी’ नभएको भनेको कुरा सुनिन्छ। उक्त दिन बिहान ८ बजे बोलाइएको भेलामा आफ्ना माता पितालाई ५ बजेसम्म राखेर ९ घण्टा मानसिक यातना दिइएको पीडितका जेठा छोरा भाजुराम श्रेष्ठ नागरिक न्यूजलाई जानकारी दिए। उनीहरुलाई यस अघिसमेत पटक पटक छिमेकीले ‘बोक्सा बोक्सी’ आरोप लगाए पनि गाउँमै मिलाइँदै आएको थियो।
स्थानीयका अनुसार पीडित श्रेष्ठ गाउँमा सामन्य झारफुक गर्थे। गाउँका अन्य केही झाँक्रीले रत्नबहादुरलाई कार्बाहीको माग गर्दै टोल सुधार समितिमा निवेदन दिएका थिए। गाउँपालिकाले आफ्ना कामहरु गर्न सजिलो होस भनेर वस्ती पिच्छे टोलसुधार समिति गठन गरेको छ।
झाँक्री समुहको नामबाट दिइएको निवेदनमा छलफल गरौं कार्तिक ७ गतेदेखि श्रेष्ठले गाउँमा उपचार गरेर हिँड्दा अवरोध पु¥याएकाले गाउँले भेला बोलाएर निर्णय गरी पाउँ भन्दै उल्लेख छ। उक्त निवेदन समितिका अध्यक्ष रत्ननारायण श्रेष्ठले गाउँले भेला बोलाएर निर्णय गरेको स्थानीयले बताएका छन्।
निर्णयमा उनीहरुले पीडित रत्नबहादुरले कँहीकतै गएर आफ्नो ज्यान तलमाथि गरेमा १ सय १३ घरधुरी जिम्मेवार हुने छैन् भनी लेखेका छन्। यस्तै रत्नबहादुर र अर्का कर्णबहादुर मगरले ईन्द्रजाल किताब पढी आएको र उक्त किताब धामी झाँक्री समुहमा १५ दिनभित्र बुझाउन भनिएको छ।
निर्णयको अन्तिममा रत्नबहादुरले गल्ती गरेकाले उनलाई अब उप्रान्त गाउँको उपभोक्ता समुह र धामी झाक्री समुहमा आवद्ध नगराउने भनेर लेखिएको छ। उनलाई गाउँ छाडेर जान भनेर माईन्युटमा नलेखिए पनि अडियो रेकर्डमा गाउँलेले भनेको सुनिन्छ।
घटनापछि सदरमुकाम आइपुगेका रत्नबहादुर र उनको परिवारले प्रहरीमा बोक्सी आरोपमा कार्बाहीको माग गर्दै ९ जनाविरुद्ध जाहेरी दिइएको छ। जाहेरीलगतै प्रहरीले टोल सुधार समितिका अध्यक्ष रत्ननारायण श्रेष्ठलाई पक्राउ गरेको छ।
प्रकाशित: ८ मंसिर २०७६ १०:२९ आइतबार