समाज

भारतीय गाडीमा भ्रमण वर्षको पोस्टर टाँस्ने अभियान सुरु

झापा –  पूर्वीनाका काँकडभिट्टामा लायन्स क्लब अफ काँकडभिट्टाले नेपाल प्रवेश गरेका सबै भारतीय सवारी साधनहरुमा नेपाल भ्रमण वर्ष २०२० को लोगो अङ्कित पोस्टर टाँस्ने अभियान आजबाट सुरु गरेको छ।

सङ्घीय सांसद् राम कार्की तथा प्रदेशसभा सदस्यद्वय श्रीप्रसाद मैनाली र गोपाल बुढाथोकीले डब्लुबी ७४ एके ८८६४ नंको भारतीय गाडीमा संयुक्त रुपमा पोस्टर टाँसेर अभियानको सुरुआत गरेका हुन्।

रङ्गीन कलेवरमा पर्यटन वर्षको लोगोसहित छापिएको पोस्टरमा ‘नेपाल भ्रमण वर्ष २०२० मा पाल्नुहुने सम्पूर्ण वैदेशिक तथा आन्तरिक पर्यटकहरुलाई स्वागत गर्दै पर्यटन वर्ष सफल पारौँ’ उल्लेख गरिएको छ।

गाडीहरुमा पोस्टर टाँसिएपछि त्यसमा उल्लेख भएको सन्देश भारतका विभिन्न स्थानमा सहजै पुग्ने लायन्स क्लब अफ काँकडभिट्टाका अध्यक्ष शङ्कर थापाले बताए।

भूटान, बङ्गलादेश, म्यान्मा र उत्तरपूर्वी भारतको पश्चिम बङ्गाल, सिक्किम, मेघालय, आसाम, नागाल्यान्ड, मिजोरम लगायत प्रान्तका पर्यटकहरुका लागि नेपाल प्रवेश गर्ने सबैभन्दा सहज स्थलनाका काँकडभिट्टा नै हो।

नेपालमा भ्रमण वर्ष सफल बनाउन लायन्स र लियो क्लबहरुले पर्यटक लोभ्याउने अभियान नाकाबाटै सुरु गरेको लायन्स क्लबका डिस्ट्रिक कोअर्डिनेटर लीला चिमरियाले बताए।

प्रकाशित: ७ मंसिर २०७६ १३:३३ शनिबार

पूर्वीनाका काँकडभिट्टा लायन्स_क्लब_अफ भ्रमण_वर्ष