समाज

बालाचतुर्दशीको तयारी पुरा, भक्तजनसँग शुल्क उठाए कारवाही

फाइल फोटो

काठमाडौं– यस वर्ष बालाचतुर्दशीका अवसरमा पशुपतिमा बत्ती बाल्न आउने भक्तजनसँग कुनै पनि शुल्क नलिइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

विगत वर्षहरुमा पशुपति क्षेत्रमा बत्ती बाल्न आउने भक्तजनसँग केही संस्थाहरुले बस्ने ठाउँ उपलब्ध गराएर बसोबास शुल्क अशुल्दै आएका थिए। यसरी शुल्क उठाउने संस्थाले रसिदसमेत नदिने गरेको गुनासो भक्तजनको थियो।

भक्तजनको गुनासो सम्बोधन गर्दै पशुपति क्षेत्र विकासले शुल्क नलिन सम्बन्धित सबैलाई निर्देशन दिइएको छ। कोषका सदस्यसचिव डा. प्रदीप ढकालका अनुसार कुनै संस्थाले भक्तजनसँग शुल्क लिएको पाइएमा कारवाही गरिने छ।

भक्तजनको सुविधाका लागि नेपाली सेनालगायत सुरक्षा निकाय एवं विभिन्न संस्थासँग पाल लिएर पशुपति क्षेत्रका विभिन्न स्थानमा पाल हालिएको छ। चिसोमा बत्ती बाल्न सहज गराउन अधिकतम् पालको व्यवस्था गर्न लागिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले बताए। 

बालाचतुर्दशी पर्वका लागि सुरक्षालगायत सबै तयारी पूरा भएको कोषले जनाएको छ। बेलुकीको समयमा महिला भक्तजनको सुरक्षामा विशेष ध्यान दिन लागिएको छ। सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त संयन्त्रले काम गर्ने कोषले जनाएको छ।

यसैगरी राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पनि सादा पोसाकमा खटिनेछन्। यस वर्ष मङ्सिर ८ गते आइतबार बेलुकी वैदिक सनातन हिन्दू धर्मावलम्बीले दिवङ्गत पितृका नाममा बत्ती बाल्छन्। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बत्ती बाल्ने शास्त्रीय विधि छ।

चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छरेर चतुर्थी गरेपछि बाला चतुर्दशी पर्व सम्पन्न हुन्छ। यस अवसरमा भक्तजनले पशुपतिलगायत देशभरका शिवालयमा बत्ती बाली चतुर्दशीका दिन बिहान शत्बीज छर्छन्। रासस

प्रकाशित: ७ मंसिर २०७६ ०८:२६ शनिबार

पशुपति बालाचतुर्दशी