समाज

परम्परागत पेशा छोड्दै भोटे जाति

बाजुरा - पाण्डुसैन–६ ढप्ककी पानु भण्डारीको परिवार बेसी नझरेको तीन वर्ष भयो। जब उनको परिवारसँग भेडा च्याङ्ग्रा थिए। हिउँदमा बेशी झर्थे। भएका भेडा च्याङ्ग्रा पनि वन अभावमा कम हुँदै गएपछि उनले बेसी झर्न छोडेका हुन्।

पुर्खेउली पेशा भेडा च्याङ्ग्रा पाल्न छोडेपछि परिवार गाउँमै बस्ने भएको हो। जनजाति वर्षेनी लेकमा चिसो बढ्ने र आयआर्जनका लागि भेडा च्याङ्ग्रासहित बेशी झर्ने गर्दछन्। हाल उनीहरुले चरिचरन समस्या देखाउँदै भेडा च्याङ्ग्रा पाल्नै छोडेका छन्।

पानुको जस्तै अधिकांश जनजाति परिवारले भेडा च्याङ्ग्रा पाल्न छोडेका छन्। सबैजसो क्षेत्रमा समुदायले सामुदायिक, निजी, राष्ट्रिय, कबुलीयतको नाममा वनको संरक्षण गर्ने भन्दै चरिचरनमा बन्देज लगाएपछि जनजातिको परम्परात पेशा धरापमा परेको हो। पेशाले निरन्तरता नपाउदा दुख लागेको पेमा गुरुगले बताए। अधिकांश जनजाति परिवार हाल खेती किसानी गर्ने गरेका छन्।

जिल्लामा १० हजार बढी जनसंख्या भोटे जनजातिको छ। ती सबै परिवार व्यापार र पशुपालन व्यवसाय गर्ने गर्दछन्। बढ्दो वन विनाश र जल जमिन र जंगलमा अधिकार नपाउँदा व्यवासय नै धरापमा परेको दुखेसो जनजातिको छ। पाण्डुसैनमा मात्र ३ सय बढी परिवार भोटे बस्छन्। ती सबै परिवारको पुर्खा र जन्मथलो सकैलाई थाह छैन्।

उत्तरी क्षेत्र तिब्बत र भारतको अल्मोडासम्म भेडा च्याङ्ग्रा व्यवसाय गर्दै आएको स्मरण भने पेमा कुशुगं गुरुगलाई छ। बर्षादमा लेक र हिँउदमा बेशी गर्दै जीवन चलाउने गथ्र्यौ, गएको ३० वर्षदेखि भने स्थायी रुपमा बास बस्ने गरेको गुरुगंले बताए। बर्षादमा चिनबाट नुन ल्याएर मदेशमा विक्री गर्ने र हिउँदमा चामल लिएर चिनमा विक्री गर्ने परम्परा भोटे समुदायको हो।

पछिल्लो समयमा जनजातिले पेशा नै परिर्वतन गरेका छन्। गाउँलेसँग किनेर सानो जमिनमै खेती लगाउने काममा जनजाति आर्कषित बनेका छन्। चरिचरन समस्याले पशुपालन व्यवसाय संकटमा परेपनि खेती गर्नु बाध्यता भएको डोमा भोटेले बताइन्। खेती लगाएर पनि खानलाई पुग्दैन्। अरुको काम गर्ने र विदेश गएर आम्दानी गर्नु परेको दुखेसो जनजातिको छ।

भेडा च्याङ्ग्राको ऊनबाट राडी पाखी उत्पादन गर्ने, मासु विक्री गरेर राम्रो आम्दानी गर्ने गरेका थियौं, गाउँलेले वन दिदैनन्, राज्यले गुनासो सुनिदिएन, अन्ततः खेती किसानी गर्नु परेको, सुरेन्द्र थापा भोटेले बताए। भेडा च्याङ्ग्रा पाल्न छोडेपछि खसी बोकाको मूल्य आकाशीएको छ। भोटे जनजातिको परम्परागत पुर्खेउली पेशा पशुपालन व्यवसाय धरापमा परेको छ।

प्रत्येक परिवारसँग २ सय देखि २ हजारसम्म भेडा च्याङ्ग्रा हुन्थ्ये, सबैले पाल्न छोडेका छन्। पहिलो कारण चरिचरन समस्या हो, जनजाति अगुवा एवं नेपाल भोटे जनजानी सेवा संघका केन्द्रीय अध्यक्ष गम्भीरसिंह गुरुगले बताए। बर्षादमा समस्या नभएपनि हिउँदमा एकै महिनाका लागि मात्र बाजुरा, अछाम, डोटी लगायतका जिल्लाबासीले २० हजार देखि १ लाखसम्म लिने गरेका छन्। सिजन भरीको आम्दानी जति अरुलाई दिनु भन्दा पेशा नै छोड्नु परेको हो, गुरुगको भनाई छ।

हाल जनजाति समुदायमा भेडा च्याङ्ग्रा नै छैनन्। पाण्डुसैनका ३ सय परिवार मध्ये २ सयले छोडीसकेका छन्। पेशा गर्दै आएकाहरुले पनि भेडा च्याङ्ग्राको संख्या घटाएका छन्। रातदिन चिसो खानु पर्ने, छोराछोरी पढ्न पाउँदैनन्, कहिले भोट, कहिले माल (वेशी) गर्नुपर्छ, धेरै दुख पाइन्छ, त्यसैलेपनि व्यवसाय छोड्नु परेको ठाई गुरुगंले बताईन्। गाउँलेले गाली गर्ने, चर्को मूल्य असुल गर्ने, भोकै बस्नु परेपनि खेती सुरु गरेको ठाईको भनाई छ।

भोट जनजाति जिल्लाका बिच्छ्या, रुगीन, बाँधु, कोल्टी, मार्तडी र पाण्डुसैन लगायतका क्षेत्रमा बसोबास गर्ने गर्दछन्। मौसमी बसाई सराईका कारण स्वास्थ्य र शिक्षा सेवाबाट भोटे समुदाय वञ्चित छ। पुर्खेउली पेशा परिर्वतन गर्न थालेपछि भोटेहरुको मौलिक पहिचान नै गुम्ने खतरा बढेको छ।

प्रकाशित: ७ मंसिर २०७६ ०७:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App