समाज

निजगढ काठमाडौँ द्रुतमार्ग सडकको अनुगमन

हेटौंडा– प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले निर्माणाधीन करिब २४ किलोमिटरको भीमफेदी– इपा सडक तथा निजगढ काठमाडौँ द्रुतमार्गको अवलोकन तथा अनुगमन गरेका छन्। 

अवलोकनका लागि शुक्रबार उत्तरपूर्वी मकवानपुरको भीमफेदी, कोगटे, इपा पञ्चकन्यालगायतका क्षेत्रमा पुगेका मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले निर्माण गर्न लागेको सुरुङमार्गको अध्ययन गरिएको स्थानको निरीक्षण गरेका हुन्। 

भीमफेदी–इपा सडकको अनुगमनका क्रममा मुख्यमन्त्री पौडेलले सडक फराकिलो र दीर्घकालीन हिसाबले बन्न लागेकोमा खुशी व्यक्त गर्दै उक्त सडकलाई हेटौँडाबाट काठमाडौँ जाने वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सकिने बताए। 

२६ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त सडक तोकिएकै मितिमा सम्पन्न गर्न मुख्यमन्त्रीले निर्देशन दिए। एक वर्ष अगाडिदेखि निर्माण प्रारम्भ भएको उक्त सडक सम्झौता भएको मितिले १८ महिनामा सम्पन्न गरिसक्नुपर्ने जनाइएको छ।

यस सडक सञ्चालन भएपछि काठमाडौँ–इपा–देउराली सडकखण्ड हुँदै सवारी सञ्चालन हुनसक्ने तथा भीमफेदी गाँउपालिकाका स्थानीय लाभान्वित हुने गाउँपालिका अध्यक्ष हिदम लामा बताउँछन्। रासस

प्रकाशित: ७ मंसिर २०७६ ०५:०० शनिबार

मुख्यमन्त्री डोरमणि_पौडेल अनुगमन