समाज

जातीय छुवाछूत गर्ने दुई जना प्रहरी नियन्त्रणमा

डडेल्धुरा- जातीय भेदभाव तथा छुवाछूतको मुद्दमा दुई जना पक्राउ परेका छन्। जातीय भेदभाव तथा छुवाछूत गरेको भन्दै दुई जना विरुद्ध मुद्दा दर्ता भएपछि प्रहरीले पक्राउ गरेको हो।

भागेश्वर गाउँपालिका–१ ठूलाखेत बस्ने प्रकाशसिंह जोरा र उनकी श्रीमती सीतादेवी जोरा विरुद्ध सोही ठाउँ बस्ने दिलबहादुर कामीले जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन अन्तर्गत जिल्ला अदालत डडेल्धुरामा मंगलबार मुद्दा दर्ता गरेपछि प्रहरीले दुई जना दम्पतीलाई पक्राउ गरेको जनाइएको छ।

गत कात्तिक १३ गते आफ्नै घरमा बोलाएर गाली गलौज गरेर प्रकाश र उनकी श्रीमती सीताले कुटपिट गरेको भन्दै पीडित कामीले जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन अन्तर्गत मुद्दा दर्ता गराएपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दुवै जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।

दुवै जना दम्पतीलाई जातीय भेदभाव तथा छुवाछूतको कसुर र सजाय ऐन अन्तर्गत मुद्दा दर्ता गरी सात दिनको म्याद जिल्ला अदालतबाट थपी थुनामा राखिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए। गत कात्तिक १३ गते बेलुकी ५ बजे भएको घटनापछि पीडित कामीको टाउँकोमा चोट लागेको थियो। उनी उपचारका लागि धनगढी गएका थिए। धनगढीमा उपचार हुन नसेकेपछि भारतको खटिमा पुगेर उपचार गरी कामी घर फर्केका हुन्।

गाउँमै दलित र गैर दलितको संयुक्त बस्ती भएकाले पीडक जोरा र उनकी श्रीमतीलाई कामीसँग माफी माग्ने स्थानीय गाउँका दलित अगुवाहरुले भने पनि उल्टै जोराले पीडितलाई धम्की दिएका थिए। निरन्तर उनको धम्किपछि पीडितले जिल्ला प्रहरी कार्यालयमा पुगी मुद्दा दर्ता गराएका थिए।

प्रहरीले तत्कालै विभेद गर्ने जोरा दम्पतीलाई नियन्त्रणमा लिई कारवाहीका लागि अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका मुद्दा फाँटका प्रमुख प्रहरी नायब निरीक्षक करवीरसिंह ऐरीले बताए।

 

प्रकाशित: ५ मंसिर २०७६ १२:४७ बिहीबार

जातीय छुवाछूत नियन्त्रण