भक्तपुर - भक्तपुरमा बुधबार १७ देवीदेवताको विशेष (दस महाविद्या) पूजा गरिएको छ। बाराही पीठ विकास समिति, बाराहीस्थानले आयोजना गरेको पूजामा महिलाहरू नगरका विभिन्न शक्तिपीठमा पुगेका हुन्। महिलाहरू हाकुपटासी (स्थानीय कालो फरिया) लगाएर पूजामा सहभागी भएका थिए।
सिंह राशि अष्टमीको दिन शुभ साइतमा पूजा गरिएको हो। सो अवसरमा ‘ब्वःछायगु’ (देवतालाई सगुन चढाउने) गरिएको थियो। सुख, शान्ति, समृद्धि र रोगव्याधि नलागोस् भन्ने कामनाका लागि पूजा गर्ने जनविश्वास छ। मंगल तीर्थस्थित मंगला गणेशबाट बिहान सुरु भएको पूजा बाराही पीठ हुँदै मंगता गणेश, बाराही पीठ, बाराही द्योछें, निलतारा सरस्वती भीमसेनस्थान, काली भद्रकाली ल्योखिखेल, भैरवी देवी खँःलाँ भगवती स्थान, भुवनेश्वरी पाँचतले मन्दिरको चण्डीका माता, भैरव नाथ टौमढी, मातांगी माता बताँले, बंगलामुखी माता इन्द्रायणी माता, तलेजु भवाणी दरवार क्षेत्र त्रिपुरा सुन्दरी माता, धुमावती माता थालाछें दुगुमला, कमाला माता टिबुक्छेँ दहीविनायक र नवदुर्गा द्योछेँ गछेँमा सम्पन्न भएको थियो। त्यसपछि बाराहीस्थानमा पुगेर प्रसाद ग्रहण गरेपछि पूजा सम्पन्न भएको हो।
बाराही पीठ विकास समितिका सचिव तथा दश महाविद्या पूजा आयोजक मूल समितिका सदस्य सचिव विक्रम देउवन्जारले देशवासीको कल्याणको कामना गर्दै पूजा गरिएको जानकारी दिए। पूजा गर्ने श्रद्धालुले गक्ष अनुसार भगवानलाई खानेकुरा चढाएका थिए।
प्रकाशित: ५ मंसिर २०७६ ०३:५४ बिहीबार