समाज

प्रदूषणले आँखामा असर

फाइल तस्बिर

काठमाडौं - तपाईंको आँखा चिलाउँछ, पोल्छ वा सुख्खा हुन्छ ? यदि यस्तो समस्या छ भने तपाईंको आँखामा धुलो, धुवाँ जस्ता प्रदूषणले असर पारेको हुन सक्छ। बेलैमा आफ्नो आँखा जाँच गरौं। नत्र समस्या झेल्नुपर्ला।

प्रदूषणका कारण आँखामा विभिन्न रोग देखा परिरहेको विभिन्न अस्पतालको तथ्यांकले देखाएको छ। तिलगंगा आँखा प्रतिष्ठानमा दैनिक आउने बिरामीमध्ये २५ प्रतिशतलाई आँखाको एलर्जीको मात्र रहेको अस्पतालका आँखा रोग विशेषज्ञ डा. सिर्जना अधिकारीले बताइन्। उनको अनुसार बढ्दो प्रदूषणको कारण आँखा चिलाउने, आँखा रातो हुने, पोल्ने, आँखा बिझाउने तथा सुख्खा हुने समस्या देखिएको छ।

कतिपय बिरामी सुरुमै उपचारमा पुगे पनि धेरैले आफूखुसी औषधी प्रयोग गरेपछि जटिल समस्या देखिने गरेको उनले सुनाइन्। एक पटक एलर्जी भएपछि निश्चित अवधिको उपचारपछि पुनः दोहोरिने गरेको चिकित्सकको भनाइ छ।
कतिपय बिरामीले दुई÷तीन वर्षसम्म आफूखुसी औषधी प्रयोग गरेर आँखाको दृष्टि नै गुमेपछि उपचारमा पुगेको उनले सुनाइन्। कतिपयको पूरै दृष्टि नै गुमिसकेको अवस्था छ।

अस्पतालका आँखा रोग विशेषज्ञ डा. वेन लिम्बुका अनुसार धुलो–धुवाँको कारण आँसु आउने नली बन्द भई आँखा सुख्खा हुने र आँखा पाक्ने समस्या देखिएको बताए। अस्पतालमा आउनेमध्येमा ५ प्रतिशत आफूखुसी औषधी प्रयोग गरेका बिरामी छन्। ‘मेडिकलले जथाभावी दिएको कडा खालको औषधी लामो समयसम्म चिकित्सकको सुझावबिना प्रयोग गर्नाले समस्या जटिल बनेको देखिन्छ,’ डा.अधिकारीले भनिन्। पहिला निश्चित मौसममा मात्र देखिने गरेको आँखा पाक्ने समस्या अहिले अन्य मौसममा समेत देखिने गरेको चिकित्सक सुनाउँछन्।

हावामा हुने धुलो, कार्बन, ग्यासको स–साना कण आँखाभित्र पस्दा समस्या देखिने गरेको चिकित्सकको भनाइ छ। उनीहरूको अनुभवमा पाँच÷सात वर्षयता तीव्र रूपमा आँखामा यस्ता समस्या बढेका हुन्। यस्ता समस्या देखिए उपचार थाल्नुपर्ने चिकित्सकको सुझाव छ। उनीहरूले घरबाहिर निस्किँदा चस्मा प्रयोग गर्न, बाहिरबाट आएपछि सफा पानीले आँखा धुन, नियमित आँखा चेकजाँच गर्न र जथाभावी औषधीको प्रयोग नगर्न सुझाएका छन्।

वातवरणमा परेको प्रदूषणले आँखा तथा अन्य स्वास्थ्यमा परेको असरलाई न्यूनीकरण गर्न दिगो स्वास्थ्य सेवाको नीति तथा योजना हुनु पर्नेमा विज्ञले जोड दिएका छन्। सोमबार राजधानीमा विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र तिलगंगा आँखा प्रतिष्ठानले संयुक्तरूपमा कार्यशाला गोष्ठीको आयोजना गरेका हुन्।

गोष्ठीमा विज्ञले बढ्दो प्रदूषणले कार्बनडाइअक्साइड, मेथाइन, निरोससअक्साइड, फ्लुरोकार्वन्स, सल्फेक्साफ्लोराइडजस्ता ग्यासको वृद्धि भइरहेको औल्याएका छन्। तथ्यांक अनुसार हाल पृथ्वीमा ६५ प्रतिशत कार्बनडाइअक्साइड उद्योग तथा इन्धनबाट उत्पन्न हुने गरेको छ भने ११ प्रतिशत वनजंगल तथा जमिनबाट उत्पन्न हुने गरेको छ।

वातवरणीय प्रदूषणलाई घटाउन अस्पतालले उपचार प्रक्रियामा व्यवस्थापन गर्नु पर्ने, अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन गर्ने, औषधी खरिद गर्दा नै मिति नाघेका औषधीको वातवरणमैत्री नष्ट प्रक्रियाको सुनिश्चतता हुनु पर्ने, विकिरणयुुक्त उपकरणको नष्ट प्रक्रियालगायत पक्षलाई समेट्ने र वातावरणको विषयमा वकालत हुनु पर्ने लगायत विषय हुनु पर्ने सुझाव दिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.महेन्द्र श्रेष्ठले वातवरणसम्बन्धी क्रियाकलाप प्रभावकारीरूपमा अघि बढ्न आवश्यक रहेको बताए। ‘सबै पक्षको सहकार्यबाट मात्र यो कार्यक्रम सम्भव छ,’ उनले भने। उनले वातावरणले स्वास्थ्यमा पारेको असरको विषयमा पाठ्यक्रममै समावेश हुनु पर्ने सुझाए।

सोही क्रममा अस्टे«लियाका डा.अन्ड्रयुृले पर्यावरणमा आएको परिवर्तन र त्यसले आँखा तथा अन्य स्वास्थ्यमा परेको असरबारे कार्यपत्र प्रस्तुत गरेका थिए। स्वास्थ्य समस्यालाई सम्बोधन गर्न दिगो स्वास्थ्य सेवा, दिगो खरिद प्रक्रिया, दिगो फोहोर व्यवस्थापन, सामुदायिक आाँखा सेवा, वातावरण संरक्षणको दिगो कार्यक्रम हुनु पर्ने सुझाए।

प्रकाशित: ५ मंसिर २०७६ ०३:५० बिहीबार

प्रदूषण आँखा