समाज

युद्धले थलिएका एक लडाकुको जीवन

अपांगता भएका किशोर मिजार। तस्बिरःसरिता/नागरिक

धादिङ– २०६० साल भदौ २४ गते किशोर मिजारका लागि बिर्सन लायक दिन बन्यो। नेपाली सेना र माओवादीबीच भएको दोहोरो भीडन्तका शिकार बने उनी। उक्त समय गजुरी गाउँपालिका वडा नं २ डुडेठाटीका मिजार गोली लागि घाईते भए। 

घर नजिकै बसिरहेको बेला नेपाली सेनाले उनी माथि आक्रमण गरे। घाँटीमा लागेको गोलीले उनलाई एकै थला बनायो। खान, बस्न, शौच गर्न, अन्य क्रियाकलापका लागि दोस्रो व्यक्तिको सहारा लिनुपर्यो। सरभाइकल इन्जुरीका कारण हातखुट्टा नचल्ने, ज्यानै नचल्ने भएका उनले बाच्ने आशै मारेका थिए तर बाँचे उनी।

गोली लागि ढलेका उनलाई तत्कालै नेपाली सेनाले नै हेलिकप्टर मार्फत काठमाडौँ पर्यायो। उपचारका लागि आठ वर्ष विरेन्द्र सैनिक अस्पताल, काठमाडौंमा बिताए। उपचारका लागि नेपाली सेनाले नै खर्च गरिदिए।

अस्पतालले लङलाइभ इन्जुरी भनेर प्रमाणित गरेपछि घरमा नै फर्किए। अस्पतालका आठ वर्ष जेल जीवन जस्तै भयो मिजारका लागि। ‘तत्काल उपचार नपाएको भए त्यतिबेला नै जीवनको समाप्त हुने थियो,’ उनले भने, ‘अस्पतालमा पुगेपछि दोस्रो जुनी पाएको जस्तै भयो।’ 

सामान्य परिवारमा जन्मिएका मिजार काम गरेर कमाउँदै पढ्दै आइरहेका थिए। आर्थिक अवस्थाका कारण पढाई पूरा गर्न सकेनन् र विदेश दौडिए। २०५१ सालमा बैदेशिक रोजगारीका क्रममा सात वर्ष भारतमा बिताए। भारतका विभिन्न ठाउँमा बसेर काम गर्दा सोचेजस्तो आम्दानी लिन सकेनन्। २०५७ सालमा घर फर्किए।

विदेशबाट फर्किएको एकवर्षपछि बिहे गरे। विदेशबाट फर्किए लगत्तै तात्कालिन माओवादीमा आवद्ध भए। देशको परिस्थिति अनुसारको परिवर्तनमा लाग्नुपर्छ भन्ने सोचले साथीहरुको सल्लाहबमोजिम उनी पार्टीमा लागेका थिए। 

जीवनमरणको अवस्थाबाट बाँचेर घर फर्किएका उनी अहिलेपनि एकै ओछ्यानमा छन्। आफन्त, छिमेकीहरुको नमिठो वचन, अपहेलना सहदै दिनहरु गुजार्दै आइरहेका छन्। तर श्रीमती कविता र छोराले उनलाई साथ दिइरहेका छन्।

श्रीमती कविताले सामान्य खेती किसानी गरि गुजारा टार्ने गर्छन्।  १७ वर्षीय छोरा नजिकैको विद्यालयमा अध्ययनरत छन्।

उनी ह्वील चियरको सहारामा उनी यताउती गर्छन्। ह्वीलचियरका कारण उनलाई केही सहज भने भएको उनी बताउँछन्।सरकारले आफूजस्ता अपांगता भएका व्यक्तिलाई निःशुल्क सामग्री तथा प्रोत्साहनको क्रियाकलाप गर्नुपर्ने उनी बताउँछन्।

१६ वर्ष देखि एकै ओछ्यानमा बस्नुपरेको पीडालाई सम्झदै उनी बेलाबेला भक्कानिन्छन्। सपाङग मानिसहरु जस्तै हिँडहुल गर्ने आशा भने उनको मरेको छैन।

गोली लागेर अस्पताल पुगेदेखि अहिलेपनि नियमित औषधि सेवन गरिरहेका छन्। उनीसँग ‘क’ वर्गको अपांगता परिचयपत्र छ। ‘वडाबाट मासिक तीन हजार भत्ता आउने गर्छ, त्यसैले जीविका चलाई रहेको छु’ मिजारले भने।

 

प्रकाशित: ४ मंसिर २०७६ ०८:१५ बुधबार

युद्ध लडाकु किशोर_मिजार