समाज

मृत अवस्थामा भाले चितुवा भेटियो

तनहुँ- पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१ मुसेखोला नजिकैको जंगलसंगैको खेतमा मृत अवस्थामा वुधवार चितुवा भेटिएको छ। मृत अवस्थामा चितुवा भेटिएको जानकारी पाएपछि स्थानीयले डिभिजन वन कार्यालयमा खबर गरेका थिए।

  उक्त चितुवा कुनै चोट लागेर मृत भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए। ‘चितुवालाई चोट लागेको छ, ढाडमा चोट लागेको छ,’ उनले भने। कुनै सवारी साधनले ठक्कर दिएको हुन सक्ने बरालको अनुमान छ।

दश वर्षको जस्तो देखिने भाले चितुवा ५० केजी तौलको रहेको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत बाबुराम उप्रेतीले बताए। छाला काटेर चितुवालाई चितवन राष्ट्रिय निकुञ्ज पठाइने र बाँकी शरिर डिभिजन वन कार्यालय परिसरको जमिनमा गाडिने सहायक बन अधिकृत उप्रतीले बताए।

मंसिर १ गते आईतवार पनि तनहुँका  व्यास नगरपालिका वडा नम्वर ७ स्थित साखुलीमा पेट फुटेको अवस्थामा मृत अवस्थामा डमरु भेटिएको थियो।  तनहुँको भानु नगरपालिकामा भने चितुवाको कारण डेड वर्षको अन्तरालमा ६ बालबालिकाको ज्यान गइसकेको छ भने ७ जना घाईते भईसकेका छन्।

 

 

प्रकाशित: ४ मंसिर २०७६ ०७:२९ बुधबार

चितुवा मृत्यु तनहुँ