समाज

चिनियाँ लामाको विवाद छानविन गर्न समिति

काठमाडौं – विश्व सम्पदामा सूचिकृत बौद्ध घ्याङ गुठीका चिनियाँ लामा ‘भुपति बज्र’को विवाद छानबिन गर्न समिति गठन गरिएको छ ।

विवाद छानबिनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा पाँच सदस्य समिति गठन गरिएको हो ।

समितिमा गृह, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रतिनिधि, भूमि व्यवस्था, सहकारी तथा निवारण मन्त्रालयका प्रतिनिधि, गुठी संस्थानका प्रतिनिधि तथा पुरात्व विभागका सदस्य रहेको संघर्ष समितिका संयोजक खड्जित लामाले बताए।

बौद्ध नाथ क्षेत्र विकास समितिको नेतृत्वमा बौद्ध क्षेत्रमा क्रियाशील संस्थाले बौद्ध घ्याङ गुठीका चिनियाँ लामालाई बौद्ध क्षेत्र प्रवेशमा रोक लगाएपछि विवाद भएको थियो । गत पुसमा पनि स्तुपमा किला ठोकेको, जेनरेटर प्रयोग गरेको आरोपमा बौद्धमा उनीविरुद्ध प्रदर्शन भएको थियो ।

अहिले चिनियाँ लामाको नागरिकता गायत विषयमा पनि विवाद उठेको छ । विवाद पछि बौद्धनाथ क्षेत्र विकास समितिलगायत संस्थाले पूर्णबहादुर लामालाई बौद्ध घ्याङ गुठीको पुजा आजा गर्ने गरी जिम्मेवारी दिएको थियो ।

बौद्धमा चिनियाँ लामाको विरोध यस अघि पनि हुँदै आएको थियो । बौद्धको पुजारीमा चिनियाँ लामा ‘भुपति बज्र’को नियुक्ति देखि नै उनीमाथि विवाद हुदै आएको थियो । यसअघि भूमि मन्त्रालयका उपसचिव नीरज पौडेलको संयोजकत्वमा पनि चिनियाँ लामा विवाद सम्बन्धमा छानविन गर्न समिति गठन भएको थियो ।

समितिले प्रतिवेदन दिन नसकेपछि अर्काे समिति गठन गरिएको संघर्ष समिति संयोजक खड्काजित लामाले बताए । समितिलाई बौद्ध घ्याङ गुठीका चिनियाँ लामा विवादलगायत विषयमा छानबिन गर्ने जिम्मेवारी दिइएको खड्का जित लामाले बताए ।

विवादपछि बौद्धनाथ क्षेत्र विकास समितिलगायत संस्थाले पूर्णबहादुर लामालाई बौद्ध घ्याङ गुठीको पूजाआजा गर्ने गरी जिम्मेवारी दिएको थियो । स्थानीयवासीको विरोधपछि गुठी संस्थानले बौद्ध स्तुप, घ्याङ गुठी लगायत स्थानमा पूजा गर्न परम्परागत ५८ घरे गुठियार परिवार मध्येका पूर्णबहादुर लामालाई पूजाआजा गर्ने गरी जिम्मेवारी दिएको थियो ।
हाल यस क्षेत्रका १०० घर गुठियारका रूपमा रहेको जनाइएको छ ।

प्रकाशित: ४ मंसिर २०७६ ०४:२७ बुधबार

विश्व_सम्पदा चिनियाँ समिति