समाज

धरौटी तिर्न नसक्दा थुनामा

काठमाडौं – मालपोत कार्यालय पर्सामा उठेको रकम हिनामिनाको आरोपमा पक्राउ परेका कर्मचारी मदनप्रसाद गुप्ता विशेष अदालतले तोकेको धरौटी तिर्न नसक्दा थुनामा गएका छन्।

विशेष अदालतले मंगलबार ५० लाख रुपैयाँ धरौटीमा छुट्न आदेश दिएको थियो। विशेष अदालतका न्यायाधीश कृष्ण गिरी, चन्द्रबहादुर सारु, रवि शर्मा अर्यालको इजलासले धरौटी बुझाएर तारेखमा बस्न आदेश भएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताविरुद्ध राजस्व रकम हिनामिना गरेकाले ७७ लाख रुपैयाँ बिगो माग गर्दै सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। मंगलबार भएको थुनछेक बहसपछि धरौटी बुझाएर तारेखमा बस्न आदेश दिएपनि उनी थुनामा गएका हुन्। रकम बुझाउन सक्दैन म थुनामा जान्छु भनेपछि डिल्लीबजार कारागारमा थुना पठाइएको विशेष अदालतका इन्द्रकुमार खड्काले जानकारी दिए। गुप्ताविरुद्ध यस अघि दुईवटा भ्रष्टाचारको आरोप लागेका मुद्दा दर्ता भैसकेका छन्।

उनले आफू कार्यरत मालपोत कार्यालयमा उठेको राजस्व, धरौटी, बैंकमा जम्मा नगरी आफ्नै खातामा जम्मा गरेको देखिएको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको थियो। ‘मालपोत कार्यालय पर्सामा आर्थिक वर्ष २०७०÷०७१ को रजिष्ट्रेशन फाँटमा रहेका उनले जग्गा लिखित पास गर्दा लाभकर नलिएको, एउटै नम्बर राखी विभिन्न रजिष्ट्रेसन पास गरेको, लिखित रजिष्ट्रेसनमा भएको थैली रकम घटाई कम मूल्यको थैली कायम गरी राजस्व रकम हिनामिना गरेको’ अख्तियारले आरोपपत्रमा दाबी गरेको छ।

गुप्ताले उठाएको राजश्व प्रचलित कानुनबमोजिम समयमै दाखिला नगरी हिनामिना गर्ने तथा महŒवपूर्ण सरकारी अभिलेख कागजात र प्रमाणहरू नष्ट गरेको सप्रमाण पुष्टि भएको अख्तियारको दाबी छ।

प्रकाशित: ४ मंसिर २०७६ ०१:५८ बुधबार

मालपोत_कार्यालय धरौटी थुना