समाज

लुम्बिनीमा आफैबारे समिक्षा गर्दै पत्रकार

रुपन्देही– लुम्बिनीमा पत्रकारहरुले आफ्नै पेशाको गुणस्तरबारे एक आपसमा समिक्षा गरिरहेका छन्।

लुम्बिनी प्रेस क्लबले आयोजना गरेको ‘लुम्बिनी न्यूज फेस्टिबल’मा विभिन्न शत्रमा करिव ३ सय पत्रकारहरुले नेपाली पत्रकारिताका बारेमा बहस गरेका हुन्।

अन्तर्राष्ट्रिय पर्यटकीय स्थलमा भेला भएका देशैभरका पत्रकारहरु एकैथलोमा बसेर पत्रकारिताको अवस्था, पत्रकारिताको गुणस्तर तथा नयाँ मिडियाका बारेमा आफैबारे समिक्षा गरिएका छन्। 

नेपालका कहलिएका सम्पादकहरुलाई बोलाएर आईतबारदेखि लुम्बिनीमा समाचार लेख्ने पत्रकारहरु आफैलाई सुधार गर्न बहसमा उत्रिएका हुन्। बिशेष गरि संघीयतामा मुलुक गएपछि मिडियाका थप चुनौती र अवसरका बारेमा पनि फेस्टिबलमा चर्चा भएको छ।

नेपालका मूलधारका मिडियाका सम्पादक तथा पत्रकारहरुसँग देशभरबाट आएका पत्रकारहरुले अन्तरसंवाद मार्फत गुनासा र अप्ठ्यारा पनि पोखेका छन्। 

वरिष्ठ पत्रकार किशोर नेपाल, कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्मा, खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले, पत्रकार मोहन मैनाली, रघु मैनाली, प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ, अन्नपूर्णका सम्पादक अखण्ड भण्डारी, विष्णु निष्ठुरी, विजय पौडेल, जेवि पुन, नारायण अमृत, दीपक अधिकारी लगायत पत्रकारहरु लुम्बिनी आएर पत्रकारिताबारे बहस गरेका छन्। 

पत्रकारिताको चुनौती र भबिष्य, संघीयतामा न्यू मिडिया, संघयितामा रेडियो, स्टोरी टेलिङ, के समाचार लेख्ने के नलेख्ने तथा लुम्बिनी र यस सँग जोडिएका क्षेत्रहरुको बारेमा समेत बहस गरिएको संयोजक दिपेन्द्र बडुवालले बताए। उनले पत्रकारितामाथि निर्मम ढंगले समिक्षा गर्दै प्रदेशबाट पनि नयाँ काम हुन्छ भन्ने सन्देश दिन फेस्टिबल सफल बनेको बताए।

मंगलबार घोषणा पत्र जारी गरेपछि कार्यक्रम समापन हुने आयोजकले जनाएका छन्। 

 

प्रकाशित: २ मंसिर २०७६ १३:२६ सोमबार

पत्रकार  न्यूज_फेस्टिबल