समाज

अवैध रुपमा ल्याइएका ३ ट्रक खसी बोका बरामद

भैरहवा- अवैध रुपमा ओसारपसार गर्दै गरेको खसी बोका सशस्त्र प्रहरीले बरामद गरेको छ।  सशस्त्र प्रहरी बल नेपाल नं. ३८ गुल्म हे.क्वा.(रा.भ.सु.) रुपन्देहीबाट सशस्त्र प्रहरी निरीक्षक विजय थापाको कमाण्डमा खटेको विशेष टोलीले जिल्ला रुपन्देही देवदह नगरपालिका ९ घोडाहामा चेकजाँच गर्ने क्रममा पश्चिमबाट पुर्व तर्फ जादै गरेका ३ वटा ट्रकहरुबाट एक करोड तेह्र लाख त्रिहत्तर हजार मूल्य बराबरको खसी बोका बरामद गरेको हो।

ना.७ ख ३४०, ना. ६ ख. ६६४८ र ना ६ ख ६६४१ नं. का ३ वटा ट्रकमा लोड गरी ल्याउदै गरेको ६७८ वटा खसी बोकासहित ३ वटा ट्रक र व्यक्तिहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी नायब उपरिक्षक मान बहादुर शाहीले बताए।

शनिबार राती ११ वजे नियन्त्रणमा लिइएको उक्त खसी बोका, ट्रक  आइतबार दिउँसो भन्सार पठाइएको छ। खसी बोका ओसार-पसारमा संलग्न रहेका ३ ट्रकका चालक र सहचालक गरी ६ जनालाई भैरहवा भन्सार कार्यालयमा आवश्यक कारवाहीका लागि पठाइएको छ।

 

 

प्रकाशित: १ मंसिर २०७६ ०९:०१ आइतबार

ट्रक बरामद अवैध