समाज

साथीमाथि गोली हान्ने पक्राउ

उदयपुर – सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लाग्दा साथीको मृत्यु भएपछि फरार रहेका अभियुक्त पक्राउ परेका छन् । ३ दिनअघि सिकार खेल्ने क्रममा गोली लाग्दा कटारी नगरपालिका ११ का ४९ वर्षीय शंकर राउतको मृत्यु भएको थियो ।

छिमेकी ४५ वर्षीय अमृतबहादुर राउतले चलाएको बन्दुकको गोली लाग्दा शंकरको मृत्यु भएलगत्तै उनी फरार भएका थिए । उनलाई बिहीबार साँझ धनुषाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सिकार भनेर गोली हान्दा दुर्घटनावश आफ्नै साथीमाथि गोली लागेर मृत्यु भएको बयान राउतले दिएका जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरिकृष्ण केसीले बताए ।

‘शंकर मेरा अत्यन्त मिल्ने साथी हुन्, मैले मार्ने कल्पनै गर्न सक्दिनथेँ’ राउतको बयान उद्धृत गर्दै डिएसपी केसीले भने ‘अकस्मात घट्ना भएपछि बौलाएसरह भएर जंगलैजंगल हिड्दा धनुषा आई पुगेँछु ।’ प्रहरीले सिकार खेल्न सँगै गएकामध्ये चक्रबहादुर बस्नेतलाई भने त्यतिबेलै प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले अनुसन्धानको क्रममा सोहीदिन सिकार खेल्न गएको अर्को समूहका तीनजनालाई पनि सोधपुछका लागि नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कटारी ११ कै ४८ इन्द्रबहादुरर बस्नेत, ३० वर्षीय दिनेश भन्ने दिलबहादुर बुढाक्षेत्री र ३३ वर्षीय गोपाल भन्ने हेमबहादुर कटुवाल रहेको प्रहरीले जनाएको छ । उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भईरहेको केसीले बताएका छन् ।

मृतक नेपाल कम्युनिष्ट पार्टील (नेकपा) का उदयपुर जिल्ला सदस्यसमेत रहेका थिए । उनको मृत्युका कारण पार्टी जिल्ला कमिटी बैठकसमेत अवरुद्ध हुन पुगेको छ । बैठक अवरुद्ध हुँदा नेकपाको स्थानीयतहतर्फको पार्टी कमिटी गठन प्रक्रिया नै अवरुद्ध हुन पुगेको पार्टीले जनाएको छ ।

४ नगर र ४ गाउँपालिका र त्यसभित्र समेटिएका ७५ वडाको पार्टी कमिटी गठनका लागि पदाधिकारी र सदस्य टुंगो लगाउन ३ दिनअघि बस्ने भनिएको बैठक जिल्ला सदस्य राउतको मृत्युका कारण अवरुद्ध हुन पुगेको पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बलदेव चौधरीले बताएका छन्।  

प्रकाशित: २९ कार्तिक २०७६ ०५:३७ शुक्रबार

रुवा_बन्दुक सिकार