समाज

नयाँ भवनले शैक्षिक वातावरण सुधार

तस्बिर: नवनिर्मित विद्यालय भवन। फोटोः दिनेश नागरिक

रोल्पा - कक्षा ८ मा अध्ययनरत सरिता विकलाई घर छेउको स्कुल छाडेर अलि पर पढ्न कहिले जाउला जस्तो हुन्थ्यो। माटोको जीर्ण भवन भित्र माथिबाट खसिरहने धुलोले दिक्क बनाउथ्यो। तर अहिले उनिहरु अर्को स्कुल जानु नपरे हुन्थ्यो जस्तो मान्न थालेका छन्। ‘उहिले यो स्कुल कहिले छोडौ जस्तो हुन्थ्यो तर अब छोड्नै मन छैन।’ बालहित आधारभुत विद्यालय कक्षा ८ कि छात्रा खर्कमाली पुनले भनिन् ‘के गर्नु ९ कक्षाबाट पढ्न सदरमुकाम नै जानुपर्छ।’

जीर्ण अवस्थाको भवनमा पढिरहेका यहाँका बिद्यार्थीहरु यतिबेला गतिलो नयाँ भवन बनेपछि दङ्ग छन्। सेभ द चिल्ड्रेन÷हुरेक रोल्पाको सहयोगमा ५९ लाख ८३ हजार १ सय ४८ रुपैयामा तयार भएको ४ कोठे भवनले पढाई संचालनमा निकै सहयोग पुगेको शिक्षक बिद्यार्थी बताउँछन्। ‘नयाँ भवनले शैक्षिक वातावरण बनेको छ। धेरै सजिलो भएको छ।’ विद्यालयका प्रअ अमर बहादुर बुढाले भने ‘शैक्षिक सामाग्री प्रयोग गरेर पढाउन निकै सजिलो भएको छ।’

सोमबार नयाँ भवन हेर्न पुगेका जिल्ला समन्वय समिति प्रमुख राजबहादुर बुढा र रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसीले सेभ द चिल्ड्रेनले गतिलो भवन बनाइदिएकोप्रति खुसी व्यक्त गरे। भबन सुन्दर भए जस्तै शिक्षकले पनि अध्यापनमा सुधार गर्नु पर्ने बताउदै शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख दुर्गा खड्काले भने ‘शिक्षकको मेहनत पुगेको छैन। पठन वग र बोध क्षमता अलि कम छ।’ खड्काले थपे ‘भवन जस्तै गतिलोसंग पठनपाठन ग-यो भने शिक्षा सुधार हुनेछ। सिकाइँ उपलब्धि पनि बढ्नेछ।’ आज पनि रोल्पाका दर्जनौ विद्यालय आर्थिक अभावका कारण जीर्ण भवनमा पठनपाठन गरिरहेका छन्।

प्रकाशित: २९ कार्तिक २०७६ ०३:५० शुक्रबार

नयाँ_भवन शैक्षिक_वातावरण