समाज

धानको बाला नलागेपछि किसान चिन्तित

बाला नलागेको धान।

गोरखा - धेरै फल्ने आसले स्थानीय जात छोडेर हाईब्रेड पायोनियर जातको धान लगाएका किसान दाना नलागेपछि चिन्तित छन्। उक्त जातको धान लगाएको अधिकासं ठाउँमा बाला नलागेपछि किसानहरु चिन्तित बनेका छन्।

सिरानचोक गाउँपालिका ६ खोपिस्वाँराका खुनबहादुर गुरुङको १० रोपनी खेतमा लगाएको धानमा दानै लागेन। गत वर्ष राधा शंकर जातको धान लगाएर २५ मुरी भित्र्याएका उनले यस वर्ष काट्ने बेला भएको धानमा दाना नलागेको बताए। ‘धेरै फल्छ भनेर पाँच सय रुपैयाँ किलो तिरेर सात किलो किनेर लगाएँ, अहिले बिउ जति पनि उत्पादन छैन’ उनले भने।  उत्पादन धेरै लिन लगाएको हाईब्रेड धानले खर्च ओत्नुको सट्टा उल्टो घाटा परेपछि उनी गाउँपालिकाको कृषि शाखा र कृषि ज्ञान केन्द्रमा गुनासो गर्न पुगेका छन्। उनले छेवेटार स्थित एग्रोभेटबाट खरिद गरेर उक्त बिउ लगाएका थिए।

किसानहरुले सिरानचोक वडा नम्बर ५ मा नमुनाका लागि लगाएको सोही जातको धानमा पनि बाला नलागेको गुनासो आएको गाउँपालिका कृषि शाखा प्रमुख शुसिला पाण्डेले बताइन। ‘धान फलेन भन्ने गुनासो आएको छ, प्राविधिकहरुले फिल्डमा गएर हेर्दै हुनुहुन्छ’ उनले भनिन् ‘किसानले बिउ बुढिएपछि रोप्ने, रोप्न ढिलो गर्ने कारणले पनि हावापानी मेल नखाएको हुन सक्छ।’ हाईव्रेड जातको धानलाई उचित समय मिलाउनुपर्ने उनले बताइन्। चिसो हावापानी भएकाले पनि मेला नखाएको हुन सक्ने बताउँदै उनले थप पुष्टी गर्न ल्याब परीक्षण गर्नुपर्ने बताइन्।
 

 


 

प्रकाशित: २८ कार्तिक २०७६ ०५:३८ बिहीबार

धान बाला किसान