समाज

अवैधरुपमा लगाइएको १० हजार बोट गाँजा नष्ट

बाहुनीडाँडामा अवैधरुपमा लगाइएको गाँजा फडानी गर्दै प्रहरी। तस्बिर : जिल्ला प्रहरी कार्यालय खोटाङ

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न स्थानमा भारी मात्रामा लगाइएको अबैध गाँजा फडानी गरेको छ। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका विभिन्न ठाउँमा लगाइएका करिब १० हजार बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए।

हत्तपत्त प्रहरी पुग्न नसक्ने क्षेत्रमा लगाइएको गाँजा ईलाका प्रहरी कार्यालय हलेसी र प्रहरीचौकी च्यास्मीटारबाट खटिएका प्रहरीको टोलीले आइतबारदेखि तीन दिन लगाएर नष्ट गरेका हुन्। बाहुनीडाँडाको कुर्ले, सिरुवानी, डोडेनी, रुपटार, डुम्रे, झापा तथा डिकुवाको बलुई र बाईटारमा अवैधरुपमा लगाइएको गाँजा नष्ट गरिएको हो।

बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले भने प्रहरीले बाहुनीडाँडामा मात्र पाँच हजारभन्दा बढि बोट गाँजा नष्ट गरेको दावी गरे। प्रहरीले बाहुनीडाँडामा केही महिनाअघि पनि गाँजा फडानी गरेको थियो।

गत असारदेखि जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजा नष्ट गर्ने अभियान थालेको प्रहरीले आफ्नो अभियानलाई जारी राखेको छ। गाँजा नष्ट गर्न गएका प्रहरीलाई गाँजा आफै उम्रिएको बताउने गरिएको छ। गत असोज २७ गते प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको खोपबारीमा लगाइएको २५० बोट गाँजा फडानी गरेको थियो।

यस्तै, भदौ २८ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा करिब ३ सय बोट, भदौ ५ गते हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम हैदेमा करिब एक हजार तीन सय बोट, भदौं २ गते हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको माथिल्लो काभ्रे र तल्लो काभ्रेमा लगाइएको करिब ६ सय बोट गाँजा नष्ट गरिएको थियो।

प्रहरीले साउन २४ गते महादेवस्थानकै पात्ले र साउन २२ गते महादेवस्थानकै ऐसेलुखर्कमा लगाइएको गाँजा नष्ट गरेको थियो। त्यसभन्दा अघि पनि अर्खौले, दुर्छिम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हाटडाँडा क्षेत्रमा लगाइएको गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ।

विगतका वर्ष हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, दुर्छिम, डिकुवा, बडहरे, बाहुनीडाँडा, मंगलटार, च्यास्मीटार लगायतका ठाउँमा गाँजा खेती लगाउने गरिएकामा प्रहरीले नष्ट पार्न थालेपछि पछिल्लो समय गाँजा खेतीमा कमी आएको छ। प्रतिकेजी कम्तीमा पाँच हजार रुपैयाँमा घरैबाट बिक्री हुने तथा ठेकेदारले ५० हजारदेखि एक लाखसम्म अग्रिम पेश्की दिने गरेकाले किसानले अवैध गाँजाको खेतीमा जोखिम मोल्ने गरेका छन्।

उदयपुरबाट आउने ठेकेदारले अग्रिम भुक्तानी दिएर किसानलाई गाँजाको खेतीतर्फ उक्साउने गरेका थिए। सुक्खाग्रस्त क्षेत्रमा पर्ने र अन्यबाली कम उब्जाउ हुने सो क्षेत्रका किसानले व्यवसायीक रुपमा गाँजा खेती गर्ने गरेका छन्।


 

प्रकाशित: २७ कार्तिक २०७६ ०९:१२ बुधबार

गाँजा नष्ट