समाज

भुस्याहा कुकुरको उपचारसंगै बन्ध्याकरण

हलेसीमा भुस्याहा कुकुरको उपचार गर्दै पशु स्वास्थ्यकर्मी। तस्बिर : नागरिक

खोटाङ– खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारका भुस्याहा कुकुरको उपचार एवं बन्ध्याकरण गरिएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारमा हुल बाँधिएर हिँड्ने कुकुरको उपचारका साथै बन्ध्याकरण गरिएको हो।

बौद्धमार्गीको मारातीका छोलिङ गुम्बा हलेसी र वडा कार्यालयको सहकार्यमा स्ट्रीट डग केयर बौद्ध काठ्माण्डौंले ३० वटा भुस्याहा कुकुरको उपचार गरेको छ। त्यसमध्ये ११ कुकुरको बन्ध्याकरण गरिएको वडाध्यक्ष चइन्द्र राईले बताए।

स्ट्रीट डग केयरले दुब्लो, पातलो र चोटपटक लागेका भुस्याहा कुकुरलाई हप्ता दिन लगाएर उपचारका साथमा बन्ध्याकरण गरेको हो। भुस्याहा कुकुर नियन्त्रण तथा ब्यवस्थापनका क्रममा ६ महिनाका लागि जुकाको औषधि पनि खुवाइएको छ।

एउटा कुकुरलाई वर्ष दिनका लागि लुतोको औषधि हालिएको वडाध्यक्ष राईले बताए। छाडा कुकुरको समुहले हलेसी दर्शनमा आउने पर्यटक एवं दर्शनार्थीमाथि पनि आक्रमण गर्न थालेपछि संख्या घटाउन बन्ध्याकरण एवं उपचार गरिएको हो।

मानवमा रेविज रोग सर्ने त्रास पनि फैलिएकाले भुस्याहा कुकुर नियन्त्रणमा ध्यान दिनु परेको वडाध्यक्ष राईले बताए। ‘छाडा कुकुरका कारण बजारमा जताततै फोहोरमैला र दुर्गन्ध पनि बढ्दो छ,’ वडाध्यक्ष राईले भने, ‘दर्शन गर्न र बजार भर्न आएका दर्शनार्थी र स्थानीयलाई टोक्ने र रोग सर्ने त्रास पनि बढेकाले उपचारको व्यवस्था गरिएको हो।’

वडा कार्यालयले एउटा कोठा उपलव्ध गराएपछि कुकुरलाई ल्याएर उपचार गरिएको हो। कुकुरको व्यवस्थापनमा हलेसी आएका स्ट्रीट डग केयरका स्वास्थ्यकर्मी पुनः ६ महिनापछि आउने जनाइएको छ। कतिपय कुकुरलाई तीन दिनसम्म राखेर उपचार गरिएको छ।

 

प्रकाशित: २६ कार्तिक २०७६ १४:२९ मंगलबार

कुकुर बन्ध्याकरण