समाज

वनस्पती पकेट क्षेत्र बन्दै जुम्ला

जुम्ला- जुम्ला वनस्पतीकाे पकेट क्षेत्र बन्ने भएको छ। वनस्पति अनुसन्धान केन्द्रले चालु आर्थिक वर्षदेखि वनस्पति पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको छ। विभिन्न वनस्पतीको भण्डारण भएकोले जुम्लालाइ वनस्पती पकेट क्षेत्रका रुपमा अघि बढाउन थालिएको हो। जसका लागि एक टोली स्थलगत अध्ययनका लागि निस्किएको छ।  स्थलगत अध्ययन भ्रमणको लागि पूर्व वैज्ञानिक अधिकृत दिलबहादुर क्षेत्रीको टोली जुम्लाको पातारासी गाउँतिर प्रस्थान गरेको छ। जुम्लामा पाइने वनस्पतीको अवस्थाका बारेमा बुझ्ने छ।

वनस्पति विभागको कार्यक्रम अन्तर्गत यो वर्षदेखि जुम्लामा वनस्पति पकेट क्षेत्र कार्यक्रम हुन लागेको वनस्पती कार्यालय जुम्लाका प्रमुख चन्द्रमोहन गुर्मछानले जानकारी दिए। उनले भने, ‘जुम्ला वनस्पती पकेट क्षेत्रका लागि उपयुक्त छ। यहाँ थरिथरिका वनस्पती छन्। लोप हुन लागेको वनस्पती संरक्षणका लागि यो कार्यक्रम निकै सान्र्दभिक हुनेछ। यो कार्यक्रमले यहाँका वनस्पतीको हित गर्छ।’

यो कार्यक्रम अन्र्तगत जुम्लाको ४० हेक्टर जमिनमा अतिस लगाउने तयारी भएको छ। पहिलो चरणमा १० हेक्टर जमिनमा अतिस लगाउने योजना छ, प्रमुख गुर्मछानले भने,‘ आगामी वर्षमा ४० हेक्टर जमिनमा लगाइने छ। कर्णाली प्रदेशका ९ वटा जिल्लामा यो वर्षदेखि वनस्पति पकेट क्षेत्र कार्यक्रम सञ्चालन हुने भएकोमा जुम्लामा यो बर्ष देखि शुरु भएको हो।

कर्णाली प्रदेशको ४ सय हेक्टर जमिनमा वनस्पति पकेट क्षेत्र कार्यक्रम संचालन हुने छ। पकेट, ब्लक, जोन र सुपरजोन कार्यक्रम संचालनको लागि वनस्पती विभागले तयारी थालेको छ। अतिस खेति गर्ने जमिनको स्थलगत भ्रमणका लागि  अध्ययन टोलीले चौधबिस क्षेत्रका किसानसँग समन्वय र खेति गर्ने उपयुक्त वातावारण हेर्ने काम गरिरहेको छ। सामुदायिक वन र किसानसँग समन्वय गरि वनस्पति पकेट क्षेत्र प्रारम्भ हुन गइरहेको छ।

नेपालमा पाइने वनस्पतिहरु हराउँदै गएकाले संरक्षणका लागि विभागले वनस्पति पकेट क्षेत्र कार्यक्रम तर्जुमा गरेर कार्यन्वयनमा लैजान थालेको हो। जडीबुटीको उत्पादन, विकास र व्यवस्थापनको लागि पकेट क्षेत्र तोकी उत्पादन र उत्पादकत्व वृद्धि, दिगो संकलन र स्थानीय जनताको आय आर्जन वृद्धि गर्न यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने स्थानीय बताउँछन्।

बजारको मागको अवस्था विश्लेषण गरेर जडीबुटीको निरन्तर आपूर्तिका लागि खेती वा वन जङ्गल दुबैबाट आपूर्तिको व्यवस्था मिलाउन वनस्पति पकेट क्षेत्रको प्रस्तावना बनाइएको हो। यो कार्यक्रमले वनस्पती परिपक्क भएपछि मात्र कोर्ने वा टिप्ने, वनस्पती संरक्षणमा स्थानीयलाइ जागरुक बनाउने र आम्दानीको स्रोत वनस्पतीलाइ बनाउन मद्धत पुग्ने देखिन्छ। जथाभावि वनस्पती उत्खनन्ले अधिकांश वनस्पती लोप हुने अवस्थामा छन्। पाटनमा वनस्पती पाउनै छाडेका छन्। पकेट क्षेत्र स्थापनाले किसान र वनस्पती दुबैलाई परिपक्क बनाउने छ।

प्रकाशित: २६ कार्तिक २०७६ ११:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App