समाज

‘मलाई नियोजित रूपमा फसाउन खोजियो’

काठमाडौं – ठगी आरोपमा पक्राउ परेका व्यवसायी तथा पूर्वअर्थ सहायकमन्त्री रूपज्योतिले आफूलाई सरकारकै केही व्यक्तिले नियोजित रूपमा फसाउन खोजेको दाबी गरेका छन्। बिहीबार सिंगापुरबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका उनले आफू निर्दोष रहेको जिकिर गरे। ‘म ल्यान्डमार्क कम्पनीको सञ्चालक होइन, केही सेयर रकम मात्रै मिसाएको हुँ,’ प्रहरी हिरासतमा रहेका रूपज्योतिले सोमबार नागरिककर्मीसँग भने, ‘मेरो बारेमा बाहिर आएका कुरा भ्रामक हुन्, मलाई फसाउन योजनाबद्ध तरिकाले लागिएको छ।’ ल्यान्डमार्क डेभलपर्स प्रालिले २०७१ सालमा महाराजगन्जस्थित बाँसबारी क्षेत्रमा एक प्लट घडेरी बिक्री गरेर एक करोड ३६ लाख ७५ हजार ठगेको आरोप रूपज्योतिमाथि लागेको छ। तर आफू उक्त कम्पनीको सञ्चालक नभएको दाबी रूपज्योतिको छ।

बैना र बाँकी पैसा बुझे पनि जग्गा नदिएको आरोप लगाउँदै पीडित विजेन्द्र कृष्ण मल्ल कम्पनी सञ्चालक रहेका भन्दै रूपज्योतिलाई कानुनी कठघरामा उभ्याउन लागिपरेका छन्। तर रूपज्योतिले आफूमाथि आरोप लगाउने मल्लले ल्यान्डमार्क कम्पनीको नाममा पैसा जम्मा नै नगरेको दाबी गरे। उनले सिई कन्ट्रक्सन्स कम्पनी र ल्यान्डमार्क कम्पनीले साझेदारीमा काम गर्दै आइरहेकाले सामान्य साइनो मात्रै जोडिएको बताए। सहकार्य गरेर काम गर्दै आइरहेको क्रममा सी कन्ट्रक्सन्र्सले घर बनाएको र ल्यान्डमार्क कम्पनीले जग्गा प्लटिङ गरी सम्याएको उनको भनाइ छ। ‘अहिले धेरै अफवाह फैलाइएको छ। वास्तवमा सी कन्ट्रक्सन्र्स प्रालिले घर बनाउँथ्यो, ल्यान्डमार्क कम्पनीले जग्गा खरिद गरी सम्याउने काम गथ्र्यो। यसरी यी दुई कम्पनीले आपसमा जोडिएर काम गरेका थिए,’ रूपज्योतिले भने, ‘बीचमा केही गडबड भएका कारण सी कन्ट्रक्सन्सलाई जग्गा सम्याउने जिम्मा दिइयो, त्यसैक्रममा शम्भुले विज्ञेन्द्रसँग एक करोड २६ लाख पैसा लिएका रहेछन् तर बिल भर्पाई ल्यान्डमार्क कम्पनीको प्रयोग गरेकाले त्यसले समस्या पारेको हो।’

ल्यान्डमार्कले घडेरी बिक्रीका लागि बुकिङ खुलाएपछि विज्ञापन पढेर मल्ल त्यहाँ पुगेका थिए। घडेरी मन परेर २०७१ भदौ ५ गते एक करोड २६ लाख ७० हजार रुपैयाँ शम्भु फुयाँल सञ्चालक भएको कम्पनी सिई कन्ट्रक्सन्सको खातामा जम्मा गरे। उनले ल्यान्डमार्क कम्पनीको कम्पाउन्डभित्र रहेको जग्गा हेरेर पैसा हालेका थिए। जग्गा मन परेपछि मल्लले ल्यान्डमार्कसँग प्लट किन्छु भनेर शम्भुसँग सम्पर्क राखे। त्यसपछि शम्भुले फरक नपर्ने भन्दै सिई कम्पनीको खातामा पैसा जम्मा गर्न लगाए। सिई कन्ट्रक्सन्सका सञ्चालक शम्भुले त्यतिबेला आफूले जग्गा ल्यान्डमार्क कम्पनीकै दिने भनेर बैना बुझेका थिए। सोहीअनुसार सी कन्ट्रक्सन्स कम्पनीको खातामा पैसा जग्गा गरिदिन भनिएको थियो।

उक्त कुरा शम्भुले ल्यान्डमार्क कम्पनीका सदस्यलाई सुनाएनन्। बिल र भर्पाई भने ल्यार्डमार्क कम्पनीकै प्रयोग गरे। पैसा बुझाएको केही समयसम्म मल्लले सम्पर्क राखेनन्। यता ल्यान्डमार्क कम्पनीलाई मल्लले जग्गा किनेका हुन् भनेर थाहा थिएन। मल्लले मन पराएको जग्गा ल्यान्डमार्क कम्पनीले २०७१ सालमा अर्कैलाई बिक्री ग¥यो। उक्त कुरा थाहा पाएपछि मल्लले ल्यान्डमार्क कम्पनीमा गएर पैसा शम्भुमार्फत तिरिसकेको बताए। त्यतिबेला व्यवसायी रूपज्योति पनि त्यही थिए। शम्भुले उक्त रकम आफूले बुझेको अरू कसैलाई थाहा दिएका थिएनन्। तर पैसा बुझाइसकेका मल्ल जग्गा आफ्नै हो भन्नेमा ढुक्क थिए। करिब एक वर्षपछि जग्गा बिक्री भयो भनेर थाहा पाएपछि मल्लले रूपज्योतिलाई फोन गरेका थिए। त्ससपछि रूपज्योतिले ल्यान्डमार्क कम्पनीमा रकम जम्मा नभएको र अर्कै कम्पनीको खातामा जग्गा भएको बताएका थिए। मल्लले रूपज्योतिसँग फोनमा कि प्लट देऊ कि पाँच करोड देऊ भनी कराएका थिए।

‘त्यतिबेला कारोबार गर्ने व्यक्तिहरूले नै परिपक्व ढंगले कारोबार गरेनन्। पछि त्यो जग्गा बिक्री भएपछि मल्लले मैले किनेको जग्गा अर्कैलाई किन बेचेको भनेर मसँग कराए,’ रूपज्योतिले भने, ‘तर उक्त जग्गा ल्यान्डमार्कले अर्कैलाई बिक्री गरेको थियो, त्यसपछि मल्ल ममाथि आक्रामक रूपमा खनिएका हुन्।’ सामान्य कुराले पनि फसाउँछ भन्ने डरले मल्लको समस्या समाधान गरिदिन चासो देखाउँदा आफूलाई सबैतिरबाट दोषी ठहर गर्न थालिएको उनले बताए।

रूपज्योतिका कानुनी सल्लाहकार अरुण ज्ञवालीले सञ्चालक अर्कै भएको कम्पनीमा रूपज्योतिलाई नाम मात्रको सञ्चालक बनाएर माथिल्लो निकायले नै फसाउन खोजेको आरोप लगाए। ‘उहाँमाथि सरकारले नै योजनाबद्ध रूपमा फसाउन लागेको देखिन्छ, कागजात र कारोबार हेर्दा उहाँको कुनै हात देखिन्न, कम्पनीका जिम्मेवार व्यक्ति पक्राउ पर्नुपर्ने ठाउँमा बीचको व्यक्तिलाई घटनाको भागीदार बनाइएको छ,’ उनले भने।

पद्म कंसाकारलाई पनि फसाउन खोजिएको जानकारी दिँदै रूपज्योतिले भने, ‘मलाई फसाउन खोजिएको थियो, एक/दुई करोड मेरा लागि खासै ठूलो होइन, यस्तो अल्झनमा किन समय खेर फाल्नु भनेर मैले अदालतमै गएर अदालती चार्जसहित मल्लको पैसा जम्मा गरिदिएँ।’

उनले त्यतिबेला मल्ललाई बुझाउन भनी एक करोड २६ लाख सात सय र त्यसमा एक लाख ४३ हजार चार्ज तिरेका थिए। तर उक्त रकम अदालतबाट बुझ्न विज्ञेन्द्रले मानेनन्। २०७५ मंसिर १६ गते विज्ञेन्द्रले ज्योति र उनका दाइ पद्ममाथि ठगीको आरोप लगाउँदै महानगरीय प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दर्ता गराएका थिए। त्यति हुँदाहुँदै पनि रूपज्योतिले मल्लले मागेअनुसारको क्षतिपूर्ति रकम दिने बताउँदै आएका छन्।

जिल्ला अदालत काठमाडौंले रूपज्योतिलाई पक्राउ गर्न गत मंसिर २० मा अनुमति दिएको थियो। जिल्ला अदालतविरुद्ध उनी अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालत गएका थिए। सर्वाेच्चले उनलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो। त्यसको एक वर्षपछि गत मंगलबार ज्योतिको मुद्दा सर्वोच्चले खारेज गरेको थियो। मुद्दा खारेज भएलगत्तै जिल्ला अदालतको आदेशअनुसार महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई बिहीबार पक्राउ गरेको हो। घटनाको विवरण खोतल्न समय लाग्ने भनेपछि प्रहरीले जिल्ला अदालतसमक्ष समय मागेअनुसार दुईपटक गरी आठ दिन म्याद थपेको छ। हिरासतमै राखेर ज्योतिमाथि अनुसन्धान गरिरहेको परिसरका एसपी होबिन्द्र बोगटीले बताए। उनले रूपज्योतिले ठगी गरेको गुनासो तथा उजुरी पीडित पक्षबाट आएपछि प्रहरीले विशेष सूचनाका आधारमा विमानस्थलबाट पक्राउ गरेको दाबी गरे।

रूपज्योतिका दाइसहित १० जना पक्राउ पर्न सक्ने
२०७५ मंसिर २० गते काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा रूपज्योतिका दाइसहित अन्य १० जनालाई प्रहरीले पक्राउ गर्न सक्ने देखिएको छ। विपक्षीहरूले पुरानो पक्राउ पुर्जी बाहिर ल्याए पक्राउ पर्न सक्नेमा मिला सायमी, रूपज्योतिका दाइ पद्मज्योति, प्रकाशभक्त माथेमा, किरण महर्जन, रूपज्योतिकी बहिनी कमला कंसाकार, पद्मज्योतिका छोरा सौरभज्योति र छोरी सुहृद्धज्योति, रूपज्योतिका छोरा अभिकज्योति र सुर्चीज्योति तथा सिई कन्ट्रसन्सका सञ्चालक व्यवसायी शम्भु फुयाँल छन्।

प्रकाशित: २६ कार्तिक २०७६ ००:५३ मंगलबार

ठगी_आरोप पक्राउ